२ आश्विन २०८१, बुधबार | Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी ७ का स्थानियको गुनासो,‘वडाध्यक्ष कहिल्यै भेटिदैनन’



अछाम । ढकारी गाउँपालिका–७ का बासिन्दाले जनचाहनाअनुसार वडा कार्यालयबाट सेवा प्रवाह हुन नसकेको गुनासो गरेका छन । वडाध्यक्ष कार्यालयमा नियमित नबस्दा सिफारिसहरु र अन्य कामहरुमा बाधा भइरहेको उनीहरुले गुनासो गरेका हुन् ।

आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँद समक्ष गुनासो सुनाउँदै घोडाखानका शेरबहादुर कामीले वडाध्यक्षलाई कहिले थारा, कहिले गल्बाल त कहिले ढकारी गएर सिफारिस लिनुपर्ने बाध्यता रहेको भन्दै उहाँलाई उतै डेरा गरेर बस्ने भनिएको छ कि कार्यालयमा बसेर सेवा दिन भनिएको छ भनेर आक्रोस पोख्नु भएको थियो ।

उहाँले वडाध्यक्ष वडा कार्यालयमा नबस्नुको कारण बारे गाउँपालिकाले जवाफ दिनुपर्ने भन्दै चुनावमा जिताएका जनप्रतिनिधि कार्यालयमा नबस्दा नागरिकहरुले गाउँमा स्थानिय सरकारको आभास गर्न नपाएको बताउनुभयो । गुनासो गर्ने क्रममा पशुपति जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक दिनेश साउँदले योजना निर्माण र बजेट बिनियोजनका बेला वडाध्यक्षले कसैलाई खबरै नगरी मनोमानी ढंगले गर्ने गरेको आरोप लगाउनुभयो ।

उहाँले जसले गर्दा आफुहरुले आवश्यकताका विषय वडा समिति मार्फत गाउँपालिकामा पठाउन नपाएको बताउनुभयो । अन्य सहभागिहरुले पनि वडाध्यक्ष कार्यालयमा नभेटिने, सडक, बत्ती र खानेपानी लगायत विषयका समस्या सुनाएका थिए । थारम देखि घोडाखान, टिमुदेखि घोडाखान र थारा तर्फ जाने सडक मर्मत नुहँदा सबै भन्दा बढी सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ । स्टेचरमा बिरामी बोक्न समेत समस्या भइरहेको भन्दै तत्काल सडक मर्मत गरिदिन उनीहरुले माग गरेका छन् ।

त्यस्तै अलपत्र अवस्थामा रहेका विजुलीका पोल र तारहरु जडान गरी गाउँमा बत्ती पुगाइदिन पनि स्थानियले आग्रह गरेका छन् । कर्मचारी अभाव, औषधि अभाव जस्ता विषय पनि सार्वजनिक सुनुवाइमा उठेका थिए । वडाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिदै ढकारी गाउँपालिकाका अध्यक्ष साउँदले वडाध्यक्षहरु वडामा नबस्ने मात्र नभई उनीहरुकै मिलेमतोमा बदमासि भइरहेको समेत बताउनुभयो ।

सोलार बितरण लगाएतका केहि काममा उनीहरुले बदमासि गरेको उहाँको भनाई छ । गरिब र बिपन्न समुदायले पाउनु पर्ने सुविधाहरु वडाध्यक्षले आफु निकटका व्यक्तिलाई दिएको भेटिएको बताउनुभयो । अब नियमित वडा कार्यालयमा नभेटिए र अन्य बदमासिमा नसच्चीए आफु कडा रुपमा प्रस्तुत हुँने भन्दै यस बारे कार्यापालिकामा समेत छलफल गरिने बताउनुभयो । यदि सधैं यस्तै अटेरी गरेको भेटिए त्यस्ता वडाध्यक्षहरुको सेवा सुविधा नै रोकिने अध्यक्ष साउँदले चेतावनी दिनुभयो ।

साथै उहाँले योजना बनाउदा आवश्यकता अनुसार गर्नुपर्ने बताउनुभयो । बैशाखसम्मा सबै वडा कार्यालयसम्म बत्ती पुग्ने भन्दै अन्य समस्या समाधानमा आफु निरन्तर लागि रहेको बताउनुभयो । जवाफ दिने क्रममा गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देबी शाहीले योजना निर्माणमा महिलाहरुको अनिवार्य प्रतिनिधित्व गराउन आग्रह गर्नुभयो ।

महिलाका लागि आउने बजेट पारदर्शी रुपमा उनीहरुकै लागि खर्च गर्न पनि उहाँले अनुरोध गर्नुभयो । सहभागिका प्रश्नको जवाफ दिदै वडाध्यक्ष थापाले भौगोलिक बिकटता जस्ता अन्य केहि समस्याले आफु नियमित कार्यालयमा पुग्न नसकेको भन्दै क्षमा माग्नुभयो । अधिकांस समय जनताकै सेवामा रहेको भन्दै उहाँले अब धेरै समय कार्यालयमा बस्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह, स्वास्थ्य शाखा प्रमुख सुरत बहादुर बुढा र कृषि विकास शाखा प्रमुख दिपेन्द्र कुँवरले पनि सम्बन्धित प्रश्नको जवाफ दिनु भएको थियो ।

पत्रकार ध्रुव बीसीले सहजीकरण गरेको सार्वजनिक सुनुवाइमा वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रबहादुर बुढा, वडा नम्बर ५ का वडाध्यक्ष कर्णबहादुर साउँद, निवर्तमान वडाध्यक्ष पूर्णसिंह थापा, कार्यपालिका सदस्य लाल बहादुर कामी, वडा सदस्यहरु उज्जले थापा, भीमबहादुर कामी, तुलादेबी थापा, जौकला कामीको उपस्थिति रहेको थियो ।

त्यस्तै नेपाली कांग्रेसका वडा कार्यसमिति सभापति खकेन्द्र बहादुर थापा, नेकपा एमालेका वडा कमिटि सचिव ललिचन थापा, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य नमबहादुर थापा, नेकपा एकीकृत समाजवादीका गाउँपालिका कमिटी अध्यक्ष दिलबहादुर थापा, उद्यम विकास सहजकर्ता नबिन बुढा लगायत ९० जना बढीको सहभागिता रहेको थियो । भोलि बिहीबार ढकारी गाउँपालिकाको वडा नम्बर ६ ढुंगाचाल्नाको सार्वजनिक सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *