७ पुस २०८१, आइतबार | Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नर्बदेश्वर शिवालय संरक्षणका लागि मंगलसेनमा बृहत छलफल सम्पन्न



मंगलसेन । अछाम सदरमुकाम मंगलसेन स्थित नर्बदेश्वर शिवालय संरक्षणका लागि बृहत छलफल सम्पन्न भएको छ । संरक्षण समितिका अध्यक्ष तेजबहादुर बिष्टको अध्यक्षतामा छलफल सम्पन्न भएको हो ।

मंगलसेन नगरपालिकाको वडा नम्बर ३ मा रहेको शिवालयमा भर्खरै आएका बाबाजी धर्मानन्द गिरी र माता यक्ष गिरीको व्यवस्थापन तथा शिवालयको आफ्नै छुट्टै विधान निर्माण, नयाँ संरक्षण समिति गठन र आर्थिक सहयोग संकलन गरेर कोष स्थापना गर्ने विषयमा छलफलमा ब्यापक परामर्श भएको छ ।

जसका बारेमा मंसिर १५ गते बस्ने भेला मार्फत सबै निर्णयलाई मुर्त रुप दिइने बारे निर्णय समेत गरिएको छ । त्यसका लागि हालको संरक्षण समितिका पदाधिकारीहरु यस क्षेत्रका समाजसेवी बुद्धिजीबी तथा धार्मिक आस्थावान सबैलाई उपस्थितिका लागि अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

साथै शिवालयको थप विकासका लागि कोष स्थापना गर्ने निर्णय स्वरुप आजैदेखि आर्थिक संकलन अभियान समेत सुरु गरिएको छ । मंगलसेन बजार विकास समितिले रु पाँच हजार, श्रम अभियान अछामले रु पाँच हजार र रेडियो सोसाइटी एफएमले रु पाँच हजार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

छलफलमा सहभागि बजार बिकास समितिका अध्यक्ष गोपाल बोगटी, श्रम अभियानका सह संयोजक शिव बहादुर बोगटी र रेडियो सोसाइटी एफएमका प्रमुख कार्यकारी निर्देशक ध्रुव बीसीले संस्थागत रुपमा रकम सहयोगको घोषणा गर्नुभएको हो ।

त्यस्तै शोडषा माविका प्रधानाध्यापक बृकेशसिंह बोगटीले पनि व्यक्तिगत रुपमा रु पाँच हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । यसरी संकलन गरिने रकम नयाँ गठन हुने संरक्षण समिति गठन पश्चात कोष निर्माण गरेर त्यहाँ जम्मा गर्ने र आवश्यकता अनुसार शिवालयको विकासका लागि खर्च गरिनेछ ।

छलफलमा सहभागिहरुबाट बाबाजी र माताजीको तत्काल खर्च व्यवस्थापनका लागि भनेर ६ हजार ८०५ रुपैयाँ पनि संकलन गरिएको थियो । त्यस्तै मंसिर १५ गतेपछि नयाँ गठन हुने संरक्षण समितिलाई थप चलाएमान बनाइ अन्य उप-समितिहरु समेत गठन गरेर सहयोगी दाता जुटाउने र योगदान समेत गरेर शिवालयको विकास गर्ने बारे सहभागिहरु एकमत भएका छन् ।

छलफलमा शिवालय संरक्षण समतिका उपाध्यक्ष खगेन्द्र प्रसाद भण्डारी, कोषाध्यक्ष मिनबहादुर बिष्ट, सदस्यहरु पदम सिंह भाट, रंगबहादुर भण्डारी, नरबहादुर साउँद सहित वडा नम्बर ३ का वडा सदस्य चक्रबहादुर साउँद, शिक्षक नरबहादुर रावल, बृकेशसिंह बोगटी, रेडियो सोसाइटी एफएमका प्रमुख कार्यकारी निर्देशक ध्रुव बीसी, मंगलसेन बजार विकास समितिका अध्यक्ष गोपाल बोगटी, श्रम अभियानका सह संयोजक शिवबहादुर बोगटी, युवा व्यवसायी कर्ण बहादुर बोगटी लगायत समाजसेवी बुद्धिजीबि र अन्य स्थानिय गरी ५५ जना बढिको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ८ : ०७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *