मंगलसेन । अछामको बान्नीगढी जयगढ गाउँपालिकाले सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले अबदेखि कुनैपनि कर्मचारीले प्रोत्साहन भत्ता लिन नपाउने गरी यस सम्बन्धि कार्यविधि नै खारेज गरेको हो ।
यसअघि गाउँपालिकाका सबै तहका कर्मचारीहरुले प्रोत्साहन भत्ता स्वरुप मासिक दुईहजार रुपैयाँ बुझ्दै आएका थिए । देशको पछिल्लो अवस्थालाई विश्लेषण गर्दै स्रोतमा परेको चापलाई मध्यनजर गरी प्रोत्साहन भत्ता खारेज गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदले बताए ।
उनका अनुसार बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि स्विकृत कार्यक्रम तथा साना योजनाहरु कार्तिक दोस्रो हप्ताभित्र उपभोक्ता समिति गठन गरेर कार्यान्वयन प्रारम्भ गरिने बारे पनि निर्णय गरेको छ ।
त्यस्तै आसोज २५ गते गाउँपालिकाको सार्वजनिक सुनुवाइ गर्ने र २७ गतेदेखि अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु गर्ने निर्णय पनि स्विकृत गरिएको अध्यक्ष साउँदले बताए । बान्नीगढी जयगढ गाउँपालिकाले दसैंतिहार जस्ता ठुला चाडपर्वलाई ध्यानमा राखि पालिका भित्रका सबै ग्रामिण सडकहरु स्तरोन्नती गर्ने भएको छ ।
वर्षाको बेला बिग्रेका सडकहरु सुधार गर्ने क्रममा सबै भन्दा पहिले जयगढ–नन्देगडा सडक सुधार गरिने र त्यसपछि क्रमशः वडा नम्बर ६ देखि १ सम्मका सडकहरु मर्मत गर्ने निर्णय समेत शुक्रबारको कार्यपालिका बैठकले गरेको हो ।











प्रतिक्रिया