सुर्खेत । जुम्लाको दुर्गम गाउँ कनकासुन्दरी–७ मा साधारण किसान परिवारमा जन्मेका खडक बहादुर रोकाया र बछुली रोकायाका जेठा छोराका रूपमा ४३ वर्षअघि बिर्ख बहादुर रोकाया जन्मिएका थिए। गाउँको कठोर जीवन, पहाडको उकालो–ओरालो, गरिबी र अभावबीच पनि उनको बाल्यकाल श्रम र जिम्मेवारीमा बित्यो।
ढुस्का सामुदायिक विद्यालयमा अध्ययन गर्दै गर्दा उनले बिहान गाईवस्तु चराउने, घाँस काट्ने, बेलुका घरायसी काममा सघाउने दिनचर्या निभाए। “एक हातमा आँसी, अर्काे हातमा बोरा बोकेर घाँस काट्न जाँदा खाजा खानै छुट्थ्यो,” उनी सम्झिन्छन विद्यालय एक डेढ घण्टाको पैदल दूरीमा थियो, तर पढाइप्रतिको चाहनाले उनलाई कहिल्यै थकाइ दिएन।
तर, कक्षा १२ सम्म पुगेपछि पढाइको बाटो थुनियो। आर्थिक अभाव र गाउँघरको परम्परागत सोचले उनलाई उच्च शिक्षा हासिल गर्न दिएन। विवाहको जिम्मेवारी पनि प्रारम्भिक उमेरमै काँधमा आयो।
संघर्षको मोड
पढाइ रोकिएपछि रोजगारी पाउन सकिएन। दिन–दिनै ‘अब के गर्ने?’ भन्ने प्रश्नले उनलाई सताउन थाल्यो। त्यही बेला भाइ प्रेम रोकायाले दिएको सल्लाहले उनको जीवनको बाटो मोडिदियो—प्लास्टिक झोला बिक्री गर्ने।
चितवनबाट झोला खरिद गरी सुर्खेतसम्म ल्याएर दुई वर्षसम्म बिक्री गर्दा महिनामा ३० हजारसम्म आम्दानी हुन थाल्यो। १ लाखको सानो लगानीले आत्मविश्वास जगायो। उनी भन्छन “यत्तिकै कमाइ भयो भने आफ्नै कम्पनी किन सुरु नगर्ने?”
उद्योगी बन्ने सपना
चितवन पुगेर उनले प्लास्टिक कम्पनीहरूको अध्ययन गरे। १८ लाख बराबरको मेसिन खरिद गरेपछि २०७८ साल मंसिर २४ गते, वीरेन्द्रनगर–१०, सुर्खेतमा आफ्नै फ्याक्टरी दर्ता गरी संचालनमा ल्याए।
आज, उनको कम्पनीले मासिक ४,००० केजी प्लास्टिक उत्पादन र बिक्री गर्छ। मासिक २ लाख बराबरको नाफा कमाउँदै उनी चार जनालाई प्रत्यक्ष रोजगार दिन सक्षम भएका छन।
सन्तानलाई शिक्षा
जसरी आफ्नो पढाइ बीचमै रोकिन पुग्यो, त्यसरी छोराछोरीको पढाइ रोकियोस् भन्ने उनको चाहना थिएन।
जेठी छोरीले सुर्खेत एजुकेसन डेभलपमेन्ट एकेडेमी बाट नर्सिङ पूरा गरिसकेकी छिन।
कान्छी छोरीले कर्णाली प्राविधिक शिक्षालय जुम्ला बाट कृषि विज्ञान पढिसकेकी छिन।
छोरा जीभिआर इन्टरनेसनल कलेज कालोपुल काठमाडौँमा विज्ञान विषय अध्ययनरत छन।
“म पढ्न सकिनँ, तर सन्तानलाई पढाउन सक्नु नै मेरो सबभन्दा ठूलो गर्व हो,” उनी भावुक हुँदै भन्छन
प्रेरणादायी सन्देश
बिर्खबहादुर रोकायाको जीवनकथा केवल व्यक्तिगत संघर्षको कथा होइन, यो हजारौँ युवाहरूका लागि आशा र आत्मनिर्भरता खोज्ने बाटो हो।
शिक्षा रोकियो भने पनि जीवन रोकिन्न।
बाटो नपाए आफैं बाटो बनाउन सकिन्छ।
श्रम र दृढ निश्चयले असम्भवलाई सम्भव बनाउन सक्छ।











प्रतिक्रिया