मंगलसेन । निरन्तरको वर्षाका कारण हिलाम्य तथा खाल्डाखुल्डी हुदा अनियमित भएको मंगलसेन–वलिगाउँ–जुपु–रामारोशन सडकखण्ड सुचारु भएको छ । गत असार २३ गतेको वर्षाले सडक हिलाम्य बनाउनुका साथै सडकको बिच भागमा खाल्डाखुल्डी पारेपछि त्यस सडकखण्डमा सवारी आवागमनमा कठिनाई उत्पन्न भएको थियो ।
मंगलसेन–वलिगाउँ–जुपु–रामारोशन सडकको मंगलसेन नगरपालिका वडा नम्बर ८, ९ र १० मा पर्ने उक्त खण्ड मर्मतपछि नियमित रुपमा सुचारु भएको नगरपालिकाले जानकारी दिएको छ । सडकमा तत्काल ग्रावेल गरिएको हो ।
मनसुन सुरु हुन वित्तिकै सडक बिग्रीएर सवारी आवागमनमा समस्या भएपछि स्थानियले मर्मतका लागि सामाजिक सञ्जालमार्फत् ध्यानाकर्षण गराएका थिए । उक्त सडक अनियमित हुदा मंगलसेनदेखी वलीगाउँ, जुपु, कालागाउँ हुदै रामारोशन गाउँपालिकातर्फ जाने यात्रुलाई सास्ती भएको थियो ।
मर्मतपछि त्यस क्षेत्रको सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ । अछाममा प्रत्येक वर्ष वर्खाको समयमा ग्रामीण क्षेत्रमा रहेका रुटहरु पहिरो र हिलोका कारण अवरुद्ध हुने गरेका छन् । जसले यात्रुले सास्ती भोग्दै आएका छन् ।











प्रतिक्रिया