मंगलसेन । अछामको ढुंगाचाल्नामा ढकारी गाउँपालिका अन्तर वडा स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । ढुंगाचाल्ना युवा तथा खेलकुद विकास क्लबको आयोजिनामा प्रतियोगिता हुन लागेको हो ।
यहीँ कार्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको शुक्रबार एक समारोहका बिच ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले उद्घाटन गर्दै हुनुहुन्छ । त्यसका लागि ढकारी गाउँपालिका–६ ढुंगाचाल्ना स्थित अष्टशिद्धि माविको खेल मैदानमा खेल खेलाउने गरी सम्पूर्ण तयारी पुरा गरिएको क्लबका अध्यक्ष भुपेन्द्र बहादुर बढाले जानकारी दिनुभयो ।
शुभदिपावली तथा छठपर्वको अवसरमा हुन लागेको भलिबल प्रतियोगितामा प्रथम हुने खेल समूहका लागि ४० हजार नगदसहित पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै दोस्रो हुने समूहलाई २७ हजार र तेस्रो हुने खेल समूहलाई १३ हजार पाँचसय रुपैयाँ नगदसहित पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव तपेन्द्र बुढाले बताउनुभयो ।
आयोजकले टिम दर्ताका लागि दुई हजार पाँचसय रुपैयाँ शुल्क तोकेको छ भने खेलडीका लागि गेम ड्रेस अनिवार्य गरेको छ । त्यस्तै टिम दर्ता गराउँदा खेलाडी सम्बन्धित वडाकै हुनुपर्ने गरी निश्चित गराउने तथा खेलमा कुनै विवाद भए आयोजकको निर्णयलाई अन्तिम निर्णय मान्नुपर्ने नियम बनाइएको छ ।
गाउँपालिका भित्रका ८ वटै वडाका खेलाडीहरुलाई शुक्रबार बिहानसम्ममा आफ्नो टिम दर्ता गराई समयमै उपस्थित हुन समेत आयोजकले अनुरोध समेत गरेको छ ।











प्रतिक्रिया