३० आश्विन २०८३, शुक्रबार | Oct 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गमका प्रहरी युनिटमा अभाव, असन्तुष्टि र पलायनको डर



अछाम । दुर्गममा खटिने प्रहरीहरु सेवा सुविधा, कार्य वातावरण र राज्यले सम्मानजनक व्यवहार नगर्दा पलायन हुने डर बढ्न थालेको छ । उनीहरु अभावै अभावमा ड्युटी गर्न बाध्य छन् ।

शुक्रबार ७१ औँ प्रहरी दिवसका क्रममा जिल्ला प्रहरी कार्यालय अछाममा आयोजीत सभामा बोल्दै पूर्व प्रहरी शंकरमान बोहराले राज्यले प्रहरीहरुको सेवा सुविधामा विभेद गरेको आरोप लगाए । जसका कारण अछाम जस्ता दुर्गम जिल्लाका प्रहरी युनिटमा अभाव, असन्तुष्टि र पलायनको डर बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

सभामा प्रमुख अतिथिका रुपमा उपस्थित प्रमुख जिल्ला अधिकारी टिकाराम ढकाल र स्थानीय सरकारका प्रमुखहरुको ध्यानाकर्षण गराउँदै बोहराले सेवा सुविधा मात्र नभई सवारी साधन, इन्धन र विभिन्न उद्धार कार्यमा आवश्यक पर्ने सुरक्षा सामग्री समेत उपलब्ध नगराइदा प्रहरीहरु आफै असुरक्षित भइरहेको बताए । गाउँका प्रहरी युनिटको अभाव टार्न स्थानीय सरकारले समेत मन लगाएर सहयोग नगरेको उनले संकेत गरे ।

बोहराले २४ घण्टा देशको सेवामा खटिने प्रहरीलाई उचित सेवा सुविधा उपलब्ध गराउँन माग समेत गरे ।

पूर्व प्रहरी बोहरा बोल्दा निकै ध्यानपूर्वक सुनिरहेका प्रमुख जिल्ला अधिकारी ढकालले सभालाई सम्बोधनका क्रममा कठिन र चुनौतीपूर्ण अवस्थामा खटिने प्रहरीलाई आवश्यक स्रोत साधन उपलब्ध गराई व्यवसायिक क्षमता अभिबृद्धिमा ध्यान दिन अपरिहार्य रहेको बताए ।

उनले सुरक्षित, सभ्य र अनुशासित समाज निर्माण गर्नु प्रहरीको मुख्य उद्देश्य भएकाले कुनैपनि दबाब बिना निश्पक्ष रुपमा कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । पूर्वाग्रहबाट मुक्त भएर काम गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले प्रहरी कार्यालयमा आउने प्रत्येक नागरिकलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिए ।

जोखिममा रहेका समुदायको सुरक्षामा संवेदनशील हुन आवश्यक रहेको भन्दै ढकालले लैंगिक हिंसा, घरेलु हिंसा, बालविवाह, मानव बेचबिखन र लागूऔषध जस्ता सामाजिक समस्या नियन्त्रणमा स्थानीय तह, नागरिक समाज र विद्यालयहरु संग सहकार्य गरेर अघि वढ्न सुझाब दिए ।

प्रहरी दिवसमा आयोजित सभामा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले युवाहरु अराजकता र कुलतमा फसेको भन्दै चिन्ता व्यक्त गरे । यसको नियन्त्रणका लागि सबै क्षेत्र मिलेर अघि बढे मात्र सबैको सुरक्षा हुने उनले बताए ।

अभावका बिच सुरक्षा दिनुपर्ने बाध्यता रहेको भन्दै बोहराले प्रहरीको उचित सेवा सुविधामा राज्यले ध्यान दिन जरुरी रहेको समेत उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक पबिन्द्र बमले अमर प्रहरीहरु प्रति श्रद्धाञ्जली दिदै प्रहरी संठगन सधैं जनताको साथमा रहेको बताए । उनले शहिद प्रहरीको बलिदानीका कारण प्रहरी संगठनको सिर उचो रहेको उल्लेख गरे ।

सभामा बोल्ने क्रममा अमर प्रहरी परिवारका हिरण्ड बोहरा र पत्रकार महासंघका उपाध्यक्ष टेकबहादुर थापा लगायतले पनि आभावले थिचिएको प्रहरी संगठनलाई सेवा सुविधा संगै साधन स्रोतले सम्पन्न गराउने तर्फ राज्यको ध्यानाकर्षण गराए ।

जिल्ला प्रहरी कार्यालय अछामले ७१ औँ प्रहरी दिवसका क्रममा विभिन्न दर्जाका पाँच जना प्रहरी तथा दुई शहिद परिवारका सदस्यहरुलाई सम्मान समेत गरेको छ । प्रहरी निरीक्षक दान सिंह भण्डारीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना प्रस्तुत गरेको सभाको सहजीकरण प्रहरी निरीक्षक दिनेशप्रसाद रिमालले गरेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  २ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *