मंगलसेन । किसान बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला अस्पताल अछामका विरामीहरुलाई फलफूल वितरण गरेको छ । संस्थाले ३१ वर्ष पुरा गरेको अवसरमा सहकारीले सोमबार ४० जना विरामीलाई फलफूल वितरण गरेको हो ।
सहकारीको मंगलसेन शाखाले आयोजना गरेको फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पताल अछामका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डाक्टर बेद कुमार चौधरीले सुत्केरी आमाहरुलाई स्याउ, केरा र जुस दिएर कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले विरामीहरुलाई फलफूल अत्यावश्यक हुने भएकाले यो कार्यले उनीहरुलाई राम्रो लाभ हुने बताउनुभयो । प्राकृतिक रुपमा पाइने भिटामीन फलफूलबाट प्राप्त हुने हुँदा यो बेला उनीहरुका लागि संघ संस्थाहरुले विभिन्न अवसर पारी फलफूल वितरण गर्नु सकारात्मक कार्य हुने उहाँको भनाई छ ।
स्थापना दिवसको अवसरमा फलफूल सहित अस्पताल पुगेका किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मंगलसेन शाखाका प्रमुख कमल बहादुर कोलीले विरामीलाई फलफूल विरण गरे पश्चात संस्थाले ३१ औँ वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रम गर्ने सिलसिला अन्तरर्गत मंगलसेन शाखाले यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले अन्य ठाँउमा रहेका शाखाहरुले अनाथालय, बृद्धाश्रम र अस्पतालहरुमा यस्तै कार्यक्रम गरेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा रेडियो सोसाइटी एफएमका प्रमुख कार्यकारी निर्देशक ध्रुव बीसी, किसान बहुउद्देश्यीय सहकारी संस्थाका फिल्ड सहायक जयप्रकास उपाध्याय लगायत जिल्ला अस्पताल अछामका अन्य चिकित्सक र नर्सहरुको समेत उपस्थिति रहेको थियो ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाले ३१ औँ वर्ष पुरा गरेको उपलक्ष्यमा मंगलसेन शाखाले मंगलबार पनि विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको जनाएको छ ।











प्रतिक्रिया