१७ कार्तिक २०८३, सोमबार | Nov 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा अझै सुध्रिँएन कलिलैमा आमा बन्ने समस्या



मंगलसेन । अछाम जिल्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको तथ्यांक झन बढेको छ । विगत वर्षभन्दा यो पटक तीन प्रतिशतले किशोरी आमाको संख्यामा बृद्धि भएको हो ।

स्वास्थ्य कार्यालय अछामले आइतबार आफ्नो वार्षिक समीक्षामा सार्वजनीक गरेको तथ्यांक अनुसार यो जिल्लामा अहिलेपनि २० प्रतिशत कलिला किशोरीहरु उमेर नपुग्दै आमा बन्ने गरेका छन् । गत दुई आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा १७ प्रतिशत रहेको किशोरी आमाको संख्या आर्थिक वर्ष २०८२/८३ मा बढेर २० प्रतिशतमा पुगेको छ । जसमा सबैभन्दा धेरै २० वर्ष मुनि सुत्केरी हुने महिलाको संख्या मंगलसेन नगरपालिकामा देखिएको छ भने त्यसपछि क्रमशः ढकारी गाउँपालिका, रामारोशन गाउँपालिका, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा उमेर नपुग्दै आमा बन्नेहरुको संख्या बढेको देखिएको छ ।

जसका कारण मातृ मृत्यु दर समेत बढेको छ । विगत दुई आर्थिक वर्षमा १/१ जना मातृ मृत्यु भएकोमा आर्थिक वर्ष २०८२/८३ मा त्यो संख्या बढेर दुई पुगेको देखिन्छ । तर नवजात शिशु मृत्यु दरमा भने सुधार आएको छ । आर्थिक वर्ष २०८२/८३ मा जन्मपछि मृत्यु हुने शिशुको संख्या नौ जना छ । त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा १२ र आर्थिक वर्ष २०८०/८१ मा २५ जना नवजात शिशुको मृत्यु भएको थियो । जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले प्रस्तुत गरेको तथ्यांक अनुसार अछाममा जन्मदै कम तौल भएका शिशुको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा ६.३ प्रतिशत नवजात शिशु कम तौलका जन्मिएका हुन् । त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा ५.८ र आर्थिक वर्ष २०८०/८१ मा ५.९ प्रतिशत कम तौल भएका बच्चा जन्मिएका थिए ।

वार्षिक समीक्षाका क्रममा प्रस्तुत तथ्यांक अनुसार अछाम जिल्लामा कुष्ठरोगीको संख्या बढेर १९ पुगेको छ । त्यसभन्दा अघिल्लो वर्ष जिल्लामा जम्मा ११ जना कुष्ठरोगी थिए । यो जिल्लामा एचआइभी संक्रमित समेत बढेका छन् । अघिल्लो आर्थिक वर्षमा ६ जना रहेका एचआइभी संक्रमीतहरुको संख्या आर्थिक वर्ष २०८२/८३ मा बढेर १४ पुगेको छ । त्यस्तै मधुमेह, उच्च रक्तचाप र मानसीक स्वास्थ्य समस्या भएकाहरुको संख्या समेत बढेको देखिन्छ ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख सिमा थापाको अध्यक्षतामा भइरहेको वार्षिक समीक्षाको उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान सामाजिक विकास मन्त्री मेघराज खड्काले स्वास्थ्य क्षेत्रका समस्या र आवश्यकतालाई वास्ता नगरी कमिसन तिर लाग्ने गरेका कारण स्वास्थ्य क्षेत्रको सुधार हुन नसकेको बताए । जनप्रतिनिधि र कर्मचारीहरु तर्फ लक्षित गर्दै खड्काले कसालई टेण्डर पारियो भने कमिसन आउँछ भन्ने खेलकै कारण यो क्षेत्रको सुधार हुन नसकेको बताए । उनले प्रदेश सरकारले विगत भन्दा यो पटक बजेट घटाएका कारण स्वास्थ्य क्षेत्र झन समस्यामा रहेको समेत उल्लेख गरे ।

स्वास्थ्य निर्देशनालय दिपायलका जनस्वास्थ्य प्रशासक योगेश भट्टले यस क्षेत्रको स्वास्थ्यअ वस्था बारे सहजीकरण गरेको समीक्षामा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र प्रमुख जिल्ला अधिकारी टिकाराम ढकालले समेत स्वास्थ्य क्षेत्रको सुधारका लागि सुझाब दिएका थिए ।

दुई दिनसम्म चल्ने समीक्षामा जिल्लाका दशवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख लगायतको उपस्थिति रहेको छ । उनीहरुले विगत वर्षको समीक्षा गर्दै नयाँ योजना तुर्जमा समेत गर्नेछन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, आइतबार  ४ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *