मंगलसेन । अछाम–१ का प्रतिनिधिसभा सदस्य भरतकुमार स्वाँरले स्रोतसाधनको अभावले अछामको स्वास्थ्य क्षेत्र सुधार हुन नसकेको बताउनु भएको छ । जसका कारण अकालमा ज्यान गुमाउनु परिरहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय अछामको वार्षिक समीक्षाको समापनमा बोल्दै स्वाँरले अहिलेपनि यो जिल्लामा सबै किसिमका औषधी र सबै प्रकारका सेवाको अभावले सुत्केरी र भिरबाट लडेका घाइतेहरुले अकालमा ज्यान गुमाउनु परिरहेको बताउनुभयो । यस्ता आपतकालिन घटना घट्दा समेत समयमा हेलिकप्टर ल्याउन नसक्दा र लामो समयदेखि एयरपोर्टमा हवाईजहाज सेवा पनि बन्द रहेकाले अछामीहरुलाई ठुलो पीडा भइरहेको बताउनुभयो ।
यस्ता समस्या बारे अहिलेको दुई तिहाई सरकारले समेत कुनै पहल नगरेको उहाँले गुनासो गर्नुभयो । वर्तमान सरकारले नागरिकका समस्या सम्बोधन गर्नुको सट्टा पुरानै ढर्रा उडाउने काम गरेको आरोप लगाउँनुभयो ।
यो सरकारले नागरिकदेखि पत्रकार, न्यायाधीश, कर्मचारी लगायतका विभिन्न क्षेत्रलाई त्रसित गरेर लोकतन्त्र विपरित काम गरिरहेको उल्लेख गर्नुभयो । हचुवाको भरमा पक्राउ गर्ने र पुष्टि गर्न नसक्ने प्रबृतिका कारण सरकार आफै संकटमा परेको आशय व्यक्त गर्दै सांसद स्वारले यस्ता कार्यबाट सच्चिन सरकारलाई सुझाब दिनुभयो ।
सभामा बोल्दै उहाँले अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरुको भने प्रशंसा गर्नुभयो । जसका कारण अहिले जिल्लाका नागरिकहरुले समयमा सेवा पाइरहेको भन्दै उहाँले धन्यवाद समेत दिनुभयो ।
समीक्षाको समापन सभामा बोल्दै अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले सामुहिक एकताबाट मात्रै स्वास्थ्य क्षेत्रको सुधार हुने भन्दै सबै मिलेर प्रतिवद्धताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अब आउने वर्ष अहिलेको नतिजा सुधारका लागि प्रत्येक क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख सिमा थापाको अध्यक्षतामा सम्पन्न सभामा आगामी वर्षका लागि स्वास्थ्यकर्मीहरुले तयार पारेको नौ बुदे प्रतिवद्धता समेत सार्वजनिक गरिएको थियो ।
जिल्लाका दशवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र केही पालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको सभामा चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद, बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउद, पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावल, ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकलादेवी शाही र मेल्लेखका उपाध्यक्ष नृपबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
दुई दिनसम्म सञ्चालन भएको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा जनस्वास्थ्य अधिकृत झपटराज ढुंगाना र क्षयकुष्ठ निरीक्षक दीपेन्द्र जोशीले सहजीकरण गर्नु भएको थियो ।











प्रतिक्रिया