मंगलसेन । अछामको मंगलसेनका अगुवा महिलाहरुले आगामि निर्वाचनमा महिला उम्मेदवारहरुले प्रमुख कार्यकारी पदमा दाबी गर्नुपर्नेमा जोड दिएका छन् । जहिले पनि सहायक र समानुपातिक कोटामा मात्र सिमित हुन नहुने भन्दै उनीहरुले यस्तो तर्क गरेका हुन् ।
विभिन्न राजनितिक दलमा आबद्ध अगुवा महिलाहरुलाई निर्वाचनमा उपमेयर, उपाध्यक्ष र समानुपातिक कोटामा मात्र सिमित गर्ने गरिएको भन्दै उनीहरुले आकांक्षी महिलाहरुलाई अब नगरको मेयर र गाउँपालिकाको अध्यक्ष जस्ता मुख्य पदमा नेतृत्व लिनेगरी अघि बढ्न सुझाव दिएका छन् ।
मंगलसेनको खुलामञ्चमा मंगलबार आयोजित ‘समावेशी समानतामूलक समाज सबैका लागि अपरिहार्य’ भन्ने नाराका साथ अन्तरपुस्ता महिलावादी मंचको अनुपम अभियानका क्रममा भेला भएका उनीहरुले आफुहरु पनि हरेक क्षेत्रमा सक्षम र योग्य रहेको भन्दै अब राजनीति, सार्वजनिक सेवा, खेल, स्वास्थ्य लगायतका सबै क्षेत्रमा महिलाहरुको सक्रिय र अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएका छन् ।
कुनै पनि चुनावअघि समावेशीता र समानताका मुद्धाहरु धेरै उठ्ने गरेपनि निर्वाचनको अन्तिम चरणमा आस्थावान राजनितीक दलबाट हुने दबाबका कारण आफुहरु कित पछाडी सर्नुपर्ने, कित उप र सहायक पदहरुमा सिमित हुनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।
कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका उपप्रमुख संगीता रावल सोडारीले काम गर्ने सिलसिलामा चुनौती र अफ्ठ्यरा पनि उत्तिकै रहेको भन्दै महिलाहरुले सर्वप्रथम आफुलाई सक्षम बनाउनुपर्ने बताउनुभयो । पिछडीएका महिला, जातजाती, लिंग, वर्ग र सिमान्तकृत समुदायको पक्षमा प्रभावकारी काम गर्न हामी आफै सक्षम भए मात्रै प्रभावकारी कार्यसम्पादन गर्न सकिने उहाँको भनाई छ ।
यस्तै मंगलसेन नगरपालिकाका निवर्तमान उपप्रमुख सरीता उपाध्यायले आफ्नो अनुभव सुनाउँदै पदमा निर्वाचित भईसकेपछि पनि आवश्यक तयारी र अध्ययनको अभावले काम गर्ने सिलसिलामा थुप्रै चुनौती र समस्या आउने गरेको भन्दै त्यसका लागि पहिलेदेखि तयार हुनुपर्ने बेला आएको बताउनुभयो । जुनसुकै राजनीतिक दलबाट भएपनि महिला उम्मेद्धारलाई महिलाहरुले नै साथ, सहयोग र प्रेरित गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट पूर्णा शाह, लक्ष्मी बोगटी, नेकपा एमालेबाट लक्ष्मी सोब लगायतका महिला नेतृहरुले आगामी स्थानीय तहको निर्वाचनमा महिलाहरु नगरप्रमुख, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष जस्ता प्रमुख पदहरुमा कडा रुपमा उम्मेद्धारका रुपमा उभिने भन्दै आफुहरुले आकांक्षा समेत व्यक्त गरेका छन् ।
आगामी निर्वाचनमा महिला उम्मेद्धारहरुलाई सक्षम बनाउने उद्देश्यले मंगलसेनमा अगुवा महिलाहरुबिच अन्तरक्रियात्मक छलफल कार्यक्रम समपन्न भएको हो । अनुपम अभियान अन्तरर्गत देशभर यस्ता कार्यक्रम हुदै आएका छन् । जहाँ स्थानीय महिलाहरुको सहभागितामा उनीहरुका विचार, राजनितिक दृष्टिकोण, सक्षम नेतृत्व लगायतका विषयमा धारणा सुन्ने गरिन्छ । अभियान अन्र्तगत यस्तै कार्यक्रम बुधबार जिल्लाको चौरपाटी गाउँपालिकामा आयोजना गरिदैछ ।











प्रतिक्रिया