मंगलसेन । अछामको रानीवन प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । तुर्माखाँद गाउँपालिका– ६ कुनीगडामा निर्माण गरिएको रानीवन प्रहरी चौकी भवनको सोमबार गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बीसीले उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै अध्यक्ष बीसीले दुर्गममा खटिने प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिसँग नजिक बनाइनुपर्ने बताए । त्यसो गरेमात्र प्रहरी आफैँलाई पनि काममा उच्च मनोबल प्राप्त हुने र नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठूलो भूमिका रहने अध्यक्ष बीसीको भनाई छ ।
दैलेख जिल्ला सँग सिमा जोडिएको क्षेत्रमा वर्षौदेखि भाडमा बस्दै आएका प्रहरीहरु गाउँपालिकाले नयाँ भवन निर्माण गरिदिएपछि खुसी भएका छन् ।
उद्घाटनपछि नयाँ भवन बुझ्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले भवन निर्माण गरेर स्थानीय सरकारले प्रहरीको आत्मबल बढाएको बताए । उनले अब रानीवन क्षेत्रको शान्ति सुरक्षाका लागि थप सहज हुने विस्वास दिलाए ।
उद्घाटनमा सहभागि तुर्माखाँद गाउँपालिकाका निवर्तमान अध्यक्ष पुष्पराज शर्माले पहिला प्रहरी आफु सुरक्षित भएमात्र समाजलाई सुरक्षा दिन सक्ने भएकाले दुर्गमका सबै प्रहरी चौकीलाई पूर्वाधारमा सम्पन्न गराइनुपर्ने बताए । त्यसका लागि स्थानीय सरकार एक्लैलेको लगानीले सम्भव नहुने भन्दै प्रदेश र संघीय सरको ध्यानाकर्षण गराए ।
गाउँपालिकाका उपाध्यक्ष बिमला शाहीले गाउँमा महिला र बालबालिकाहरु सबैभन्दा बढी असुरक्षित रहने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । प्रहरी व्यवस्थित भएपछि अब त्यसतर्फ सुधार हुने उनको विस्वास छ ।
भवन उद्घाटनमा सहभागि त्यसक्षेत्रका अन्य सरोकारवालाहरुले समेत शान्ति सुरक्षा मजबुत हुन प्रहरी सुरक्षित हुनुपर्ने धारणा राखेका थिए । नवनिर्मित रानीवन प्रहरी चौकीको भवनमा कार्यालय प्रशासन शाखा, व्यारेक, भान्साघर र सौचालय रहेको छ ।
प्रतिक्रिया