नेपाली सेनाको गोरख बक्स गणले अछामको मेल्लेख गाउँपालिकामा विपतजन्य पूर्वाभ्यास गरेको छ । भुकम्प, आगलागी र डोरीको माध्यमबाट उद्दारको अभ्यास गरिएको हो ।
गोरख बक्स गण मंगलसेन ब्यारेकका गणपति प्रमुख सेनानी संगम अधिकारीका अनुसार मंगलबार नेपाली सेनाका ४५ जना बढीको दक्ष समुहले भुकम्प र आगलागीका बेला बच्ने उपाय, घाइतेको उद्दार, प्राथमिक उपचार र राहतबारे मेल्लेखको विन्धेवासिनीमा आयोजित कृत्रिम घटना अभ्यास मार्फत स्थानीय सर्वसाधारणलाई सचेतना दिने कार्य गरेको छ ।
जसमा डोरीको माध्यमबाट भिरपहरा र मनसुनका बेला खोलमा हुने घटनाका घाइतेको उद्दारको अभ्यास पनि देखाइएको गणपति अधिकारीले बताए । उनका अनुसार सेनानी अृमत खड्काको कमाण्डमा तीन दिनसम्म प्रशिक्षण र कृत्रिम घटना अभ्यास गरिएको हो ।

जसमा कृत्रिम अभ्यासका लागि खर र बाँसबाट नमुना वस्ति निर्माण गरिएको थियो । जहाँ स्थानीय सुन्दरीको चिया पसलबाट आगलागी भएको दृष्य देखाएको थियो भने भुकम्पले सो वस्तिको वैद्यनाथ आधारभूत विद्यालय सहित स्थानीयका घरमा क्षति गरेको र घाइतेलाई प्राथमिक उपचार पश्चात एम्बुलेन्स मार्फत अस्पताल लगिएको दृष्य देखाएर उद्दार र उपचार बारे पूर्वाभ्यास गरी स्थानीयलाई सचेत पारिएको थियो ।
जमदार सुवर्ण खड्काको संयोजनमा गरिएको कृत्रिम घटना अभ्यासमा हुद्दा भेषराज बोहरा, रामबहादुर बिक र सुशान्त खिलिङ, अमल्दार प्रेम देवकोटा, सुरेन्द्र शाही, टेकबहादुर खड्का, नेत्र बहादुर मास्की, प्युठ सुमित शाही, नेत्र पराजुली, सुजन बरामु, सञ्जु खत्री, सरस्वती चन्द, निर्मला दुवाल र सिपाहीहरु साधना बिष्ट, गिता राना, नन्दा वली र सुर्यबहादुर जोगी तथा स्थानीय अप्सरा कुमारी बोहरा सहित विद्यार्थीहरुले समेत अभिनयमार्फत घटना प्रस्तुत गरेका थिए ।
कृत्रिम घटना अभ्यास अवलोकन पश्चात मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले नेपाली सेनाले पहिलो पटक आफ्नो ठाउँमा पुगेर यस्तो सचेतनामुलक कार्यक्रम मार्फत सर्वसाधारणलाई सचेत पारेको भन्दै खुसी व्यक्त गरे । उनले यसले विपदका बेला हुने घटनाले ठुलो रुप लिनबाट जोगाउने बताए ।

कृत्रिम घटनाका क्रममा देखाइएको आगो लाग्ने वित्तिकै कसरी निभाउने, भुकम्प आइहाले कसरी जोगीने, घाइतेको तत्काल उद्दार र प्राथमिक उपचार गर्ने विधि जस्ता उपायले सामान्य मानिसको जिवनमा समेत फाइदा हुने उपाध्यक्ष खड्काले बताए ।
यसप्रकारका अभ्यास नियमिति गरिदिन उनले सेनालाई आग्रह समेत गरे । मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले सचेतनाका लागि देखाइएको यो घटना अभ्यासले विपदका बेला निकै ठुलो सुरक्षा गर्ने बताए । यस्ता कार्यका लागि गाउँपालिका समेत प्रतिवद्ध रहेको भन्दै आगामी दिनमा पनि यसैगरी नागरिकलाई सचेत पार्ने कार्यमा सम्बद्ध निकाय सँगको समन्वय थप मजबुद् पारिने उल्लेख गरे ।

स्थानीय पत्रकार लालबहादुर चदाराका अनुसार कृतिम घटना अभ्यास अवलोकनका लागि करिब तीनसय बढी स्थानीय जम्मा भएका थिए । सो क्रममा स्थानीय महिलाहरुले विपदजन्य घटनाबाट बच्ने उपाय बारे देउडा समेत खेलेका थिए । चेतनामुलक देउडाका खेलेको देखेर अतिथिहरुले महिलाहरुको समुहलाई प्रशंसा गरेर उत्प्रेरणा प्रदान गरेका थिए ।

गोरख बक्स गणले अभियानकै रुपमा सुरु गरेको विपद न्यूनीकरणका लागि प्रशिक्षण तथा कृत्रिम घटना अभ्यास अन्तरर्गत यसअघि जिल्लाको ढकारी, चौरपाटी र बान्नीगढी जयगढ गाउँपालिकामा पनि कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया