मंगलसेन । अछामको मंगलसेन नगरपालिका– १३ बस्ती र बाडाका स्थानीय महिला लैंगिक हिंसा विरुद्ध संगठित भएका छन् । जेठ २७ र २८ गते दुई दिन बस्ती र बाडामा भएको महिला शसक्तिकरण तथा लैंगिक हिंसा सम्बन्धी क्षमता विकास अन्तरक्रिया कार्यक्रम मार्फत् उनीहरु लैंगिक विभेद र हिंसा विरुद्ध संगठित भएका हुन् ।
मंगलसेन नगरपालिकाको आर्थिक सहयोगमा महिला मानव अधिकार रक्षक सञ्जालले गरेको उक्त कार्यक्रम मार्फत् बस्ती र बाडामा नौ÷नौ सदस्यीय वडा सञ्जाल गठन गरिएको छ । बस्तीमा भाना नेपालीको अध्यक्षता र बाडामा टंक केशी धामीको अध्यक्षतामा वडास्तरीय महिला मानव अधिकार रक्षक सञ्जालल गठन गरिएको हो ।
सञ्जालले वडाका टोल टोलमा हुने लैंगिक हिंसा, महिला हिंसा लगायतका गतीविधी विरुद्ध अभियान सञ्चालन, सचेतना अभिवृद्धी तथा पीडितको पक्षमा पैरवीको काम छ । सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मंगलसेन नगरपालिकाका नगर उपप्रमुख संगीता रावल (सोडारी) ले सचेतना अभिवृद्धीका कार्यक्रम निरन्तर चलाईरहेको भएपनि अझै महिनावारीका बेला गोठमा बस्ने समस्या हट््न नसकेको बताइन् । अघिल्लो पुस्ता र अहिलेको पुस्ता बिचको बुझाईलाई समायोजन गर्दै सुरक्षित र सफा महिनावारीमा मै जोड दिनुपर्ने उनको भनाई छ ।
उपप्रमुख रावलका अनुसार समयसंगै अहिले महिला शसक्तिकरण र हिंसा न्युनिकरणका लागि विभिन्न निकायहरुले काम गरिरहेकोले पहिलेको तुलानामा अहिले बालिका, किशोरी तथा महिलाहरुलाई धेरै सहज वातावरण रहेको छ । तर नगरपालिकाबाट बर्षेनी महिलाको शसक्तिकरण, जिविकोपार्जन, सीप विकास र हिंसा पीडित महिलाका लागि उल्लेख्य काम हुदै आईरहेको भन्दै उनले मिलेका अवसरहरुको सदुपयोग गर्न महिलाहरु नै अग्रसर नदेखिएको गुनासो गरिन् ।
कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष हिक्मत बहादुर बोगटीले भेदभाव, विभेद र हिंसा महिलाहरुको मात्र सवाल नभएकोले पुरुषहरुको साथ पनि यसमा आवश्यक रहने बताए । उनले हरेक वर्ष वडामा महिलाका नाममा आउने बजेट सीपमूलक काममा खर्च नभएर फ्रीज हुने अवस्थाप्रती चिन्ता व्यक्त गरे ।
महिला मानव अधिकार रक्षक सञ्जाल अछामका अध्यक्ष राधिका भुजेलले वडा तहमा सञ्जाल गठनको उद्देश्य र काम कर्तव्यबारे प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा उपस्थित महिलाहरुलाई मंगलसेन नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख मञ्जु महत, सीपीएस डब्लु का संयोजक पानसरा रावल, सीएमसी नेपालका वरिष्ठ मनोविमर्श परामर्शकता पार्वती बोहराले महिला हिंसा न्युनिकरण, शसक्तिकरण र जिल्लामा क्रियाशिल यससंग सम्बन्धित निकायबाट प्रदान हुने सेवा सुविधाका बारेमा छलफल गराएका थिए ।
ग्रामीण क्षेत्रमा हुने हिंसाका घटनाको निवारण र सम्बोधन वडास्तरबाटै होस् भन्ने उद्देश्यले नगरपालिकाका विभिन्न वडामा सञ्जाल गठन भईरहेको हो । यस अघि मंगलसेनको वडा नम्बर ३, ७ र १२ मा पनि सञ्जाल गठन भईसकेको छ ।












प्रतिक्रिया