मंगलसेन । अछामको ढकारी गाउँपालिका–४ बलाता कि वडा सदस्य मनिषा साउद मृत अवस्थामा फेला परेकी छन् । घर नजिकैको जंगलमा उनको शव भेटिएको हो ।
दुई दिनअघि स्थानीय केहि व्यक्तिले गाउँकै एक पुरुष र उनलाई अबेर राती उनकै घर भित्रबाट नियन्त्रणमा लिएर उनीहरुको फोटो तथा भिडियो बनाई सामाजिक सञ्जालमा भाइरल गराएका थिए । त्यो राती वडाका वर्तमान जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि र अगुवाहरुले उनीहरु बारे छलफल गरेका थिए ।
त्यस क्रममा प्रहरीमा कुनै उजुरी नदिने र भारतमा रहेका मृतक वडा सदस्य साउदका श्रीमान नआउन्जेल दुबैको जिम्मा वडा कार्यालयले लिने सहमति भएको थियो । तर सामाजिक सञ्जालमा उक्त छलफल एकाएक भाइरल भएपछि सामाजिक अपमान सहन नसकेर उनले आत्महत्या गरेको हुनेसक्ने आशंका छ । यद्यपी घटना बारे अनुसन्धान सुरु भएकाले अहिले नै यसको सबै तथ्य भन्न सकिने अवस्था नरहेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार मृतक साउद र ती पुरुषलाई नियन्त्रणमा लिएर छलफल भएको भोलिपल्ट देखि नै उनी बेपत्ता भएको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष पहलवान थापाले प्रहरीमा उजुरी दिएका थिए । ढकारी प्रहरी चौकिमा शनिवार दिइएको निवेदनमा वडाध्यक्ष थापाले जेष्ठ २९ गते बिहान ११ बजेबाट वडासदस्य साउद हराएको उल्लेख गरिएको डिएसपी खनालले बताए ।
त्यसपछि आज आइतबार मृतकका ससुराले पनि बुहरीको खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएका थिए । डिएसपी खनालका अनुसार घटनाको अनुसन्धानका लागी प्रहरी निरीक्षक दिनेश रिमालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट प्रहरी टोली घटनास्थल गएको छ । इप्रका कमलबजार र ढकारी प्रहरी चौकिबाट पनि टोली खटाइएको उनले बताए । घटनाको बिस्तृत अनुसन्धान गरिने उनको भनाई छ ।











प्रतिक्रिया