अछाम । मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८३\८४ को लागि ६४ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १७ औ अधिवेशन मार्फत् नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आयव्यय सहितको अनुमानित ६४ करोड ४५ लाख ४६ हजारको बजेट प्रस्तुत गरेको हो ।
अधिवेशनमा नगरसभाका उपाध्यक्ष तथा नगर उपप्रमुख संगीता रावल सोडारीले संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी आगामी आर्थिक वर्षमा जम्मा ४५ करोड ६१ लाख रुपैयाँ अनुमानित आय प्रस्तुत गरिन् ।
त्यस्तै सुुदुर पश्चिम प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानबाट ५ करोड ४९ लाख ७१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट प्राप्त रकम, सवारी साधन करबाट प्राप्त रकम, आन्तरिक श्रोत तथा आन्तरिक राजश्व परिचालन लगायतका श्रोतमार्फत् गरी जम्मा कुल आय ६४ करोड ४५ लाख ४६ हजार रहने अनुमान गरिएको छ ।
प्रस्तुत बजेट वक्तव्यमा व्ययतर्फ साधारण तथा प्रशासनिक, संघिय सशर्त अनुदान चालु, विकास बजेटतर्फ नगरपालिका, संघिय हस्तान्तरित र प्रदेश हस्तान्तरित गरी जम्मा ६४ करोड ४५ लाख ४६ हजार रुपैयाँ अनुमान गरीएको छ ।
नगरपालिकाले पूर्वाधार विकासका लागि ६ करोड ४९ लाख २३ हजार, कृषि विकास शाखातर्फ ३० लाख, पशु विकास शाखातर्फ ३२ लाख, महिला बालबालिका तथा समाज कल्याण शाखातर्फ १९ लाख ८० हजार, शिक्षा शाखातर्फ १ करोड ७७ लाख ६९ हजार, स्वास्थ्य शाखातर्फ १ करोड ६२ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ ।
वडागत रुपमा सबैभन्दा बढी वडा नम्बर १३ का लागि ३३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्षको बजेटमा मंगलसेन नगरपालिकाले विभिन्न ८ वटा उद्देश्य र ७ वटा प्राथमिकताहरु तय गरेको छ ।
यस्तै नगरपालिकाले बजेटलाई दिगो विकास लक्ष्य प्राप्ती र स्थानीय जनताको हित अभिवृद्धीमा केन्द्रित गर्ने उद्देश्य लिएको छ । उत्पादनमुखी आर्थिक विकास, आधारभुत सेवा नागरिकको पहुँच अभिवृद्धी, रोजगारी, नागरिकमैत्री पूर्वाधार लगायतका उद्देश्य लिईएको छ ।
यसअघि बुधबार नै प्रस्तुत भएको निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । निति तथा कार्यक्रममा नगरसभा सदस्य, कार्यपालिका सदस्य, वडा सदस्य लगायतका सहभागीले जिज्ञासा र गुनासो राखेका थिए । कार्यक्रममा उठेका प्रश्न, टीप्पणी र सुझावको जवाफ सभाध्यक्ष तथा नगरप्रमुख पदम बहादुर बोहराले दिएका थिए । कानून बमोजिम स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गर्नुपर्र्ने व्यवस्था छ । सोही अनुरुप मंगलसेन नगरपालिकाले आज आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो ।











प्रतिक्रिया