७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनोद शाही हत्या प्रकरण : चारजना पुर्पक्षका लागि जेल चलान


२५ असार २०७९, शनिबार  

0
Shares

अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही हत्या आरोपमा चारजना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई कारागार थुनामा पठाइएको हो । जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलका अनुसार तत्काल देखिएका प्रमाणका आधारमा उनीहरु चारजनालाई पुर्पक्षकालागि कारागारमा राखेर थप अनुसन्धान गर्न भनिएको छ ।
घटनामा संलग्न रहेको भनिएका अन्य फरार ६ जनालाई खोजी गरेर जिल्ला अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिइएको पनि श्रेस्तेदार पौडेलले बताए । २१ जेठमा घर नजिकै मध्यपहाडी लोकमार्गको भिरमा मृत भेटिएका शाहीलाई गत बैशाख ३० गते सम्पन्न मतदानका बेला भएको विवादलाई लिएर १७ जेठमा हत्या गरिएको भन्दै उनका आफन्तले पञ्चदेवल बिनायक नगरपालिकाका मेयर अम्बिका चलाउने र जिल्ला समन्वय समितिका उपप्रमुख दानमती शाहीसहितका १३ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
प्रहरी अनुसन्धानका क्रममा मेयर चलाउने, स्थानीय कांग्रेस नेता नेत्रबहादुर शाही र रामबहादुर शाही घटनामा संलग्न रहेको कुनैपनि प्रमाण नभेटिएको भन्दै सरकारी वकिल कार्यालयले मुद्वा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयका वकिल कौशल ढुंगानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत अछाममा मुद्वा दर्ता गरेका थिए ।

के थियो घटना
गत जेठ १६ गते कुुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूह बिच गाउँमा झडप भयो । त्यो दिन कुटाकुट हुँदा दुबै पक्षका युवाहरु घाइते भए ।
झडपमा संलग्नलाई पक्राउ गर्न १७ गते गाउँमा प्रहरी पुग्दा अधिकांस युवाहरु भागे । केहिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसंग पनि स्थानीयको हात हालाहाल भयो । सो क्रममा प्रहरीले गर्भवती महिला र बालबालिकालाई समेत धरपकड गर्दै केहि युवाहरुलाई नियन्त्रणमा लियो । १७ गते गाउँमा प्रहरी पुग्दा भागेका सबै युवाहरु १९ गते सम्पर्कमा आए तर पञ्चदेवल बिनायक नगरपालिका–४ कुच्चीको रिठारुख टोलका बलबहादुर शाहीका १५ वर्षिय छोरा विनोद शाही भने सम्पर्कमा नआएपछि त्यही दिन देखि उनको ब्यापक खोजि थालियो ।
गत वैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानका बेला कुच्ची स्वास्थ्य चौकि मतदान केन्द्रमा एमाले, एकिकृत समाजवादी र कांग्रेसका बिच ‘फेकभोट’ का विषयमा झडप भएको थियो । त्यो दिन कांग्रेसकी दुर्गाकुमारी शाहीले धेरै पटक अन्य व्यक्तिका नाममा मतदान गरेको एमाले, समाजवादीको आरोप छ भने एमाले, समाजवादीले मतदानमा अवरोध गरेको कांग्रेसको आरोप छ । त्यही विषयलाई लिएर १६ गते कुच्चीको एक चिया पसलमा युवाहरु बिच बिबाद भएको हो ।
बिबादकै क्रममा १७ गते राति प्रहरी गाउँमै रहेकाबेला साढे ९ बजेतिर वेपत्ता भएका विनोद २१ गते बिहान गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिए । टाउको फुटेको, घाटी रेटिएको र दुबै खुट्टामा चोट लागेर आधा सडेको अवस्थामा बिहान १० बजेतिर भिरमा शव भेटिएको मृतकका दाजु बखतबहादुर शाहीले बताए ।
उनको शव भेटिएपछि किटानी जाहेरी दिन खोज्दा प्रहरीले मुद्धा दर्ता गर्न नमानेपछि हुलाक मार्फत जाहेरी दिइएको थियो । त्यसपछि अछाम प्रहरीले लामो अनुसन्धानपछि तिनजनालाई रिहाई गरेर पक्राउ परेका अन्य चारजना विरुद्ध मुद्वा चलायो । फरार रहेका जिल्ला समन्वय समितिका उपप्रमुख दानमती शाहीसहितका ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : ४१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *