काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई मर्यादित बनाइने बताएका छन् ।
पहिला नेपालको श्रम क्षेत्रका समस्या समाधान गरेर त्यसपछि वैदेशिक रोजगारीलाई मर्यादित बनाइने बताए । मन्त्रालयमा पत्रकारहरु सँग कुराकानी गर्दै मन्त्री कुवँले यस्तो बताएका हुन् । ‘वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नहेपिउन् र वैदेशिक रोजगारी मर्यादित होस् भन्नेमा म प्रतिबद्ध छु’, उनले भने, ‘विदेशमा रहेर काम गर्नु पक्कै पनि पीडादायी नै हुन्छ ।
यस क्षेत्रका समस्या र चुनौतीको समाधानको लागि म प्रयासरत रहनेछु ।’ यस्तै उनले स्वदेशमै रोजगार प्रर्वद्धनमा ध्यान दिनुपर्ने बताए । नेपालमा सबैखाले कामको आकर्षण भएको तर दक्ष र सीपयुक्त जनशक्ति नहुँदा भारतीय कामदार ल्याउनुपरेको पनि उनको भनाइ थियो ।
नेपालमा काम नगर्ने तर विदेशमा जस्तोसुकै काम गर्न पनि जान तयार हुने गरेको भन्दै उनले आफ्नो सीप विकास गरेर देशमै स्वरोजगार बन्न आग्रह पनि गरे । ‘प्लम्बर, इलेक्ट्रिसियन, नाइ मात्र होइन उद्योगहरुमा मेकानिकसम्म भारतबाट आउँछन्’, उनले भने, ‘हामीहरु सीप विकास गरेर उनीहरुलाई विस्थापन गरौँ न, अनि रोजगारीका अवसर नेपालमै भेटिन्छन् ।’
सरकारले खाडीका देश लगायत मलेसियामा जाने श्रमिकलाई फ्री भिसा फ्री टिकेटको व्यवस्था गरेको भए पनि त्यसको राम्रोसँग पालना नभएको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न आफू लाग्ने पनि उनले बताउनुभयो । यस्तै आफ्नो कार्यकालमा महिला कामदार तथा महिला घरेलु कामदारका विषयलाई पनि प्राथमिकताका साथ हेर्ने उनले बताए ।
मन्त्री कुँवरले भारतमा रहेका नेपाली श्रमिकको विषय पेचिलो भएको भन्दै भारतमा नेपाली श्रमिक कहाँ कति छन्, उनीहरुले पैसा कसरी पठाउँछन् भन्नेबारे अझै यकिन आँकडा नभएको उल्लेख गरे । भारतको रोजगारीलाई पनि व्यवस्थित गरिनुपर्ने र त्यसमा पालिका तहको भूमिका हुनुपर्ने उनको भनाइ थियो । यसमा पालिका तहले संवेदनशील हुनुपर्छ भन्दै उनले आफ्नो क्षेत्रबाट वैदेशिक रोजगारी होस् वा भारतमा होस् सबैको रेकर्ड राखिनुपर्नेमा जोड दिए ।
२ श्रावण २०७९, सोमबार
104
Shares
प्रतिक्रिया