६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुला बाढी : ५ जनाको शव भेटियो,सात बेपत्ता

उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन


२५ भाद्र २०७९, शनिबार  

26
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्।

उनले आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिएका छन्। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि बाढी र पहिरामा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए।

गृहमन्त्री खाणले बाढी पहिराबाट विस्थापितलाई तत्कालीन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन्। उनले सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कुनै कसर बाँकी नराख्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिराले ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म पाँचजनाको शव भेटिएको छ भने सातजना बेपत्ता तथा आठजना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको उनले बताए।

मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सात जना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् । 

पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको  हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै कैलालीको धनगढी लगिएको छ ।

यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजी गरिरहेका छन् । 

बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरू दीपक र दिनेश तथा अन्य चार जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ५ : ५१ बजे