८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुला बाढीपहिरो : ५ जनाको शव भेटियो, १० अझै बेपत्ता



दार्चुला : दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु भएका पाँच जनाको शव भेटिएको छ । लास्कु खोला र महाकाली नदीमा आएको बाढी तथा नौगाडको पहिरोमा परी १० जना अझै बेपत्ता छन् ।
शुक्रबार मध्यरातिबाट आएको बाढी र पहिरोका कारण महाकाली नगरपालिका–३ डुङुरीका व्यापारी धनसिंह कार्की र उनको परिवारका सबैले ज्यान गुमाएका छन् ।

धनसिंहकी श्रीमती मानमती कार्कीको शव महाकाली–५ नमस्कार नजिकै फेला परेको छ भने धनसिंह बेपत्ता छन् ।
बाढीपछिको पहिरोमा परी महाकाली–२ का ७७ वर्षीय नन्दराम बोहराको घरभित्रै पुरिएर मृत्यु भएको छ भने परिवारका अन्यले भागेर ज्यान जोगाए पनि नन्दराम घरभित्रै पुरिएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए ।
पहिरोका कारण नौगाड गाउँपालिका–१ सल्लाकी ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का ६८ वर्षीय मोहनराम पार्कीको मृत्यु भएको छ ।
बेपत्ता रहेका महाकाली–३ का धनसिंह कार्की, दिपक कार्की, दिनेश कार्की, महाकाली–४ का सरस्वती लुहार, मोहन लुहार, महाकाली–२ का मानमती शाहु, महाकाली–१ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोबाट घाइते आठजनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
घाइते आठैजनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

यस्तै नेपाली सेनाकै हेलिकप्टरले दुवै स्थानीय तहका बाढी र पहिरो प्रभावितको लागि राहत सामग्री समेत ढुवानी गरिएको छ । उनीहरुलाई स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा राहत वितरण गरिएको हो ।
बाढी र पहिरोबाट जिल्लाको दुई स्थानीय तहका झण्डै सय परिवार प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी ४२ घरमा पूर्ण र ९ घरमा आंशिक क्षति भएको छ भने ४० घर जोखिममा रहेका छन् ।
अहिलेपनि त्यहाँ नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ६ : ०७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *