१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज समानुपातिकको प्रारम्भिक बन्दसूची



काठमाडाैं । प्रमुख दलहरूले ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार मात्रै बुझाउने भएका छन् । निर्वाचन आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउने कार्यतालिका बनाए पनि पहिलो दिन साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । सूची १६ असोजसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने हुनेछैन । 

आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६  दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ । मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधिसभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउँछन् । यसअनुसार प्रतिनिधिसभामा एक सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिन्छन् । 

बन्दसूची पेस गर्ने पहिलो दिन नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल खम्बुवान साझा पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची पेस गरेको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभा, प्रदेश सभाका लागि सूची बुझाउन आठ स्थल र १० कक्ष व्यवस्था गरिएको छ । 

बन्दसूची पेस गर्न सबैभन्दा पहिला नेपाल समावेशी पार्टीका अध्यक्ष मोतीलाल भारती आयोग पुगेका थिए । बिहान १०ः४५ मा आयोग पुगेका उनले प्रतिनिधिसभाको समानुपातिकतर्फमा ४६ जनाको नाम पेस गरेका थिए । त्यस्तै, तमलोपाले प्रतिनिधिसभा र मधेस दुवैतर्फको बन्दसूची बुझाएका छन् । प्रदेश १ बाट भने नेपाल खम्बुवान साझा पार्टी र बागमतीबाट ताम्सालिङ लोकतान्त्रिक पार्टीले बन्दसूची बुझाएका छन् । 

आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेका छन् । यसैगरी गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको छ । 

बन्दसूचीका लागि निर्वाचन आयोगले तोकेको क्लस्टर
समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कुल उम्मेदवारमध्ये खस–आर्य ३१.२%, आदिवासी जनजाति २८.७%, मधेसी १५.३%, दलित १३.८%, थारू ६.६% र मुस्लिम ४.४% समावेश गर्नुपर्नेछ । प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ । यसरी समावेश महिलाको संख्या दशमलवमा आए सोभन्दा माथिको पूर्ण संख्यामा नाम समावेश गर्नुपर्ने निर्वाचन निर्देशिकाको व्यवस्था छ । 

गठबन्धनका दलहरूले अझै टुंगो लगाउन सकेनन्

कांग्रेस : आकांक्षी धेरै हुँदा कठिन, ‘हेभिवेट’ नेता राखेर आज टुंग्याइने
सात प्रदेशका सभापति र केन्द्रीय सदस्यहरूले आइतबार सात समूह बनाएर प्रतिनिधिसभा र प्रदेश सभाका समानुपातिक उम्मेदवारका नाम ‘सर्टलिस्ट’ गरेका छन् । एकै क्षेत्रबाट २५ जनासम्मको सिफारिस आएपछि कांग्रेसलाई छान्न सकस भएको छ । कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताका अनुसार सयभन्दा बढीको नामलाई ४० मुनि झारेर सर्टलिस्ट गरिएको छ । यसपटक कांग्रेसका ‘हेभिवेट’ नेता पनि सूचीमा छन् । सहमहामन्त्री फरमुल्लाह मन्सुर, विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगानालगायत नेता पनि सिफारिसमा छन् ।

माओवादी : बन्दसूची टुंग्याउन आज पदाधिकारी बैठक
महासचिव देव गुरुङ तथा उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुन रहेको कार्यदलले सिफारिस भएका नाम ‘सर्टलिस्टिङ’ गरेको छ । संघ र प्रदेशका लागि सिफारिस भएर आएका १५ सयभन्दा बढी नेताबाट कार्यदलले तीन सय ५० मा झारेको छ । माओवादीले पुराना अनुहार नदोहो¥याउने, सम्बन्धित क्लस्टरबाट वरिष्ठलाई प्राथमिकता दिने, गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका र राजनीतिक नियुक्ति लिएका नेतालाई बन्दसूचीमा नराख्ने नीति लिएको छ ।

एकीकृत समाजवादी : आइतबार सहमति जुटेन, आज टुंग्याउने
प्रतिनिधिसभाको समानुपातिकमा ११० जनाको नाम चाहिनेमा  करिब पाँच सयको सिफारिस भएको छ । प्रदेश सभाका २२० जनाका लागि नौ सयभन्दा बढीको सिफारिस छ । एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेश सभामा रहेका सांसदलाई दोहोर्‍याएर समानुपातिकको बन्दसूचीमा नराख्ने मापदण्ड बनाएको छ । 

 टुंगो लगाउन नसक्दा जसपा, लोसपा र राप्रपाले पनि आइतबार सूची बुझाउन सकेनन्
ठूला दल मात्रै होइन, आकांक्षी छान्न नसकेर जसपा, लोसपा र राप्रपाले आइतबार समानुपातिक उम्मेदवारको सूची बुझाउन सकेनन् । तीनै दलले संघ र प्रदेश दुवैतिर सोमबार शतप्रतिशत उम्मेदवारको सूची बुझाउने बताएका आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *