काठमाडौं । अझै केहि दिन वर्ष नरोकिने भएको छ । सबै ठाउँ झरी नलागे पनि हल्का वर्षा भने सबैतिर हुने पूर्वानुमान छ ।
मनसुनी गतिविधि सक्रिय रहेकाले तत्काल वर्षा रोकिएर पुरै दिन घाम लाग्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भूभागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए ।
मनसुन न्यूनचापीय रेखा सरदरभन्दा माथि नेपालको नजिकै रहेर मनसुन करिब अन्तिम अवस्थामा रहेपनि अन्त्यतिर पनि विगतमा भारी वर्षा गराएको हुनाले यसपटक पनि मनसुन कमजोर भन्न नमिल्ने उनले बताए ।
उनका अनुसार सोमबार आज प्रदेश १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहे पनि यसको सामान्य प्रभाव रहनेछ ।
राजधानी काठमाडौं उपत्यकामा आज बिहानदेखि केहि बेर घाम लागेपनि अपरान्ह् देखि फेरि पानी पर्न सुरु भएको छ । अहिले पनि पानी रोकिने र पर्ने क्रम चलिरहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
देशका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया