जुम्ला । जुम्लामा पहिरोमा मृतकको संख्या ७ पुगेको छ । कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडाका गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घरमुली ५५ बर्षका गणेश शाही, उनका छोरा २२ बर्षका रमेश शाही, रमेशकी पत्नी २२ बर्षकी पानसरा शाही, रमेशका ८ बर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ बर्षकी विद्या शाही रहेका छन् ।
घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन् । सरस्वतीको अवस्था गम्भीर छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दको टोली पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार भारी रुपमा परिरहेको वर्षा र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् ।
हिमा गाउँपालिका–३ जोगीवाडामा बाढी आउँदा स्थानीय २५ बर्षकी सत्यदेवी योगी र उनका ३ बर्षका छोरा विनम योगी बगेर बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया