ओखलढुंगा । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं संविधानसभा सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ। मिर्गौलासम्बन्धी समस्याको लामो समयदेखि उपचाररत ढुंगेलको शनिबार राजधानीस्थित आफ्नै निवासमा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार बिहान शौचालय गएका उनी शौचालयमै ढलेका थिए। परिवारका सदस्य उठाउन जाँदा उनको मृत्यु भइसकेको थियो।
पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट ओखलढुंगा–२ बाट निर्वाचित ढुंगेल नेकपा हुँदै पार्टी विभाजनपछि एमालेमा बसेका थिए।
उज्वन श्रेष्ठको हत्या आरोपमा जेल बसेर राष्ट्रपतिले आममाफि दिएपछि छुटेका ढुंगेल जिल्लामा विकासप्रेमी नेताका रुपमा परिचित थिए। उनको पहलमा जिल्लाको पश्चिमी क्षेत्रको पूर्वाधार विकासको काम थालनी भएको थियो।
ढाकरमुक्त ओखलढुंगा बनाउने योजनासहित उनले दुर्गम गाउँमा सडक ल्याउन पहल गरेका थिए। गाउँगाउँमा सडक पुगेपछि अनिकालमुक्त चुलो र विषरहित भान्सा बनाउने अभियान अधुरै राखेर ढुंगेल अस्ताएका छन्।
प्रतिक्रिया