काठमाडौं । आगामी ४ मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।
मनोनयनको पूर्वसन्ध्यामा शनिबार आयोगले पत्रकार सम्मेलन गर्दै मनोनयनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
दलहरूले वर्षालगायतका कारण मनोनयनमा समस्या हुने भन्दै कार्यतालिका फेरेर समयावधि बढाउन आग्रह गरेका थिए । तर, आयोगले त्यसलाई अस्वीकार गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कार्यतालिका पुनरावलोकनको कुनै आधार नदेखेकाले परिवर्तन नहुने बताए ।
आयोगले उम्मेदवारी दर्ता गराउन सम्बन्धित निर्वाचन क्षेत्रमा उपस्थित हुन नसक्नेका लागि काठमाडौंबाटै मनोनयन दर्ताको व्यवस्था गर्ने भएको छ । आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय जान नसक्ने अवस्थालाई हेरेर आयोगले केन्द्रबाटै सहजीकरण गर्न लागेको हो । यसका लागि बिहान १० बजे नै आवश्यक कागजात आयोगमा बुझाउनुपर्नेछ ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा ८७ दल दर्ता छन् । तीमध्ये ७५ दललाई एकल निर्वाचनमा सहभागी हुन र १२ दललाई चार चिह्नबाट संयुक्त निर्वाचनमा सहभागी हुने गरी आयोगले मान्यता दिएको थियो । त्यस्तै, प्रदेश सभातर्फ प्रदेश १ मा ७०, मधेसमा ७५, बागमतीमा ७२, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णालीमा ६४ र सुदूरपश्चिममा ६४ दल दर्ता भएका छन् ।
प्रतिक्रिया