११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रम मन्त्री कुँवरद्धार अछाम–१ मा उम्मेदवारी दर्ता, एमालेको मनोनयमा नाराबाजी

अछाम–२ मा शाह र बोगटीद्वारा उम्मेदवारी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछाम–१ मा उम्मेदवारी दर्ता गरेका छन् । त्यहाँ एमालेबाट झपट बोहरा उम्मेदवार हुन् ।

एकीकृत समाजवादी, कांग्रेस र माओवादी केन्द्रका तर्फबाट साँझा उम्मेदवार बनेका मन्त्री कुँवर यसअघि राष्ट्रियसभाका सदस्य थिए । उनको चार वर्षे कार्यकाल गत वर्ष २० फागुनमा सकिएको थियो ।

त्यसअघि उनी एकीकृत समाजवादीको राष्ट्रियसभा तर्फका प्रमुख सचेतक समेत थिए । पार्टीको केन्द्रीय सदस्य र सूदुरपश्चिम उपाध्यक्ष रहेका कुँवर ०४९ सालमा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए । २०४९ को स्थानीय तहको निर्वाचनमा जिल्ला विकास समिति अछामको उपसभापतिको पदमा निर्वाचन लडेका उनी तीन पटकसम्म एमाले अछामको अध्यक्ष बनेका थिए ।

जिल्लामा नेकपा एमालेको कुशल संगठन निर्माताका रूपमा चिरपरिचित मन्त्री कुँवर र एमालेका पूर्व उपाध्यक्ष भीम रावलको एउटै निर्वाचन क्षेत्र नम्बर १ पर्दछ । उनी २०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए । त्यसबेला भीम रावल समानुपातिकबाट सांसद चुनिएका थिए । मन्त्री कुँवर २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थिए ।

विचारमा दृढता र व्यवहारमा लचिलो हुने कुरालाई जोड दिदै आएका कुँवर यो पटकको चुनावमा पनि आफुले समाजमा गरेको योगदान र इमानदारीले मतदाताले जिताउनेमा ढुक्क छन् ।

मन्त्री कुँवर एमालेमा रहदा यसअघि अछाम–१ मा अहोरात्र भीम रावललाई जिताउन मुख्य भुमिका खेल्दै आएका थिए । कुँवर र रावल यसअघि एक अर्काका परिपुरक जस्तै थिए । तर कुँवर नेकपा एकीकृत समाजवादी तर्फ लागेपछि भने रावल सबैतिर कमजोर बनेको बिस्लेषण भइरहेको छ ।

यसपटक पनि रावललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एमाले जिल्ला कमिटीले एकल सिफारिस गरेपनि केन्द्रीय कमिटीले भने रावललाई टिकट नदिएर झपट बोहरालाई अघि सारेको हो ।

बोहोरा एमालेका केन्द्रीय सदस्य एवंम जिल्ला इन्चार्ज हुन् । यो पटक एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका उनी अघिल्लो पटक माओवादी बाट प्रदेश सभामा निर्वाचन भएका थिए ।

बोहरा उम्मेदवारी दर्ता गराउन जाँदा नेता भिम रावल निकट कार्यकर्ताले ‘नेकपा एमाले जिन्दवाद, केपी ओली मुर्दावाद’ भन्दै चर्को नाराबाजी गरेका थिए । रावलले उम्मेदवारी नपाएपछि अछाममा अहिलेपनि एमाले भित्र व्यापक असन्तुष्टि छ । जसका कारण यो पटक उम्मेदवार बनेका बोहराको पक्षमा खासै समर्थन देखिदैन् ।

रावलले टिकट नपाएपछि नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जना बढीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । एमालेको तर्फबाट क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्य पदका लागि प्रदेश सभा ‘क’ मा देवबहादुर कुवँर र प्रदेश सभा ‘ख’ मा कृष्णप्रसाद जैसीले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र गठबन्धनका तर्फबाट प्रदेश सभा ‘क’ मा कांग्रेसका मेघराज खड्का र ‘ख’ मा माओवादी केन्द्रका झपट साँउदले उम्मेदवारी दर्ता गराएका छन् ।

अछाम–२ मा शाह र बोगटीद्वारा उम्मेदवारी

प्रतिनिधि सभा सदस्यका लागि अछाम–२ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पुष्पबहादुर शाह र एमालेका यज्ञ बोगटीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस अघि यो क्षेत्रमा २०७४ को चुनावमा पनि यीनै दुई उम्मेदवार थिए । त्यो बेला बोगटीले शाहलाई दुई हजार ८५९ मतान्तरले जितेका थिए । बोगटीले २१ हजार ९६५ मत पाएका थिए ।

पाँच वर्षपछि फेरि शाह र बोगटी बिच उहीँ मैदानमा भेट भएको छ । कांग्रेसका जिल्ला सभापति शाह यो पटक गठबन्धनका तर्फबाट एकीकृत समाजवादी र माओवादी केन्द्रका पनि साँझा उम्मेदवार हुन् भने बोगटी एमालेका एकल उम्मेदवार हुन् ।

यो निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्यका लागि प्रदेश ‘क’ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अक्कल रावल र एमालेका भीम बहादुर बिष्टले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश ‘ख’ मा गठबन्धनका तर्फबाट कांग्रेसका मानबहादुर रावल र एमालेका शिवप्रसाद उपाध्यायले उम्मेदवारी दिएका छन् ।

चन्द्र प्रसाद ढुंगाना स्वतन्त्र उम्मेदवार

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि चन्द्रप्रसाद ढुंगानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी यसअघि कांग्रेसका उप सभापति थिए । पार्टीका नेताहरुका गतिविधि मन नपरेको भन्दै उनले पदबाट राजीनामा दिएका थिए ।

लामो समयदेखि स्वतन्त्र उम्मेदवर बन्ने साधारण सार्वजनीक गर्दै आएका ढुंगानाले पनि उम्मेदवारी दर्ता गराएका हुन् । उनी उद्योग वाणिज्य संघ अछामका पूर्व अध्यक्ष समेत हुन् ।


प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *