काठमाडौं । काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा भक्तपुर अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो ।
नेपालसहित अमेरिका, बंगलादेश, जापान, भारत, स्लोभानियाका लगायत १५ मुलुकका विज्ञहरु समेत सहभागि रहेको यो सम्मेलनको नारा ‘विकासोन्मुख मुलकहरूका लागि मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण’ भन्ने रहेको छ । सम्मेलनमा जिल्ला अस्पताल र नर्सिङ प्रमुख सहित ३ सय नेपाली विज्ञहरुको पनि सम्मेलनमा सहभागीता छ ।
शनिवार उद्धघाटन गरिएको सम्मेलन आइतबार सकिने छ । सम्मेलनको उद्धघाटन समारोहमा भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले नेपालमा मानव अंग प्रत्यारोपणको दिगोपनका लागि भइरहेको प्रगति बारे प्रस्तुती करण गरेका छन् ।
उनले हालसम्मको प्रगति, चुनौति र देखिएका जटिलता बारे सम्मेलनमा जानकारी गराएका छन् । बानेश्वर स्थीत एभरेष्ट होटलमा भइरहेको सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक डाक्टर दिपेन्द्ररमण सिंहले प्रत्यारोपणमा नेपाल सरकारले गर्दै आइरहेको सहयोग र आगामी सम्भावनाका बारेमा चर्चा गरेका थिए भने भारतको अपोलो अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर सन्दीप गुलेरिया र डाक्टर विवेक कुटेले कोरोनाको जोखिमका बेला मिर्गौला प्रत्यारोपणका बारे गरिएको अनुभव राखेका थिए ।
सम्मेलनमा बाल स्वास्थ्य तथा विकास राष्ट्रिय केन्द्र जापानका प्राध्यापक एम. कासाहाराले कलेजो प्रत्यारोपणका सम्बन्धको आफ्नो अनुभव बारे उल्लेख गरेका थिए ।
सम्मेलनमा नेपालका तर्फबाट १६ वटा र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्रहरु पत्र प्रस्तुत भइरहेका छन् ।
सम्मेलनबाट विकासोन्मुख मुलुकमा रहेका अंगदानसम्बन्धी रहेका समस्या र त्यसको समाधान तथा मृत्युपश्चात अंग दिन सकिने प्रावधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै अंग प्रत्यारोपण कार्य सुचारु गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका अनुसार सम्मेलनपछि हालसम्म प्रत्यारोपण बारे भइरहका प्रगतिले अझै गति पाउने विश्वास गरिएको छ भने हाल देखिएका समस्याको हल गर्नका लागि सरकार र सरोकारवाला निकायले विशेष भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया