१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनले जितेमात्र संविधानको रक्षा हुन्छ : प्रधानमन्त्री देउवा



अछाम । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताए मात्र संविधानको रक्षा हुने बताएका छन् । त्यसका लागि उत्साहका साथ गठबन्धनका पक्षमा भोट हाल्न उनले आग्रह गरे ।

चुनावी सभालाई सम्बोधन गर्न अछाम पुगेका देउवाले जिल्लाको चौरपाटी र मंगलसेनमा आयोजित सभालाई सम्बोधन गर्दै भने,‘अहिले संविधान हामीले बचाइरहेका छौ ।’

केपी शर्मा ओलीले दुई दुई पटक संविधान विघटन गरेपछि निकै अन्यौलपूर्ण अवस्थामा आफूहरुले एक ठाउँमा उभिएर संविधानको रक्षाकै लागि गठबन्धन तयार गरेको बताए । ओलीले राष्ट्रपतिलाई राति उठाएर संविधान सिध्याउने काम गरेपछि असहज अवस्थामा पनि आफूहरु अदालतसम्म पुगेर संविधान जोगाउन सफल भएको उल्लेख गरे ।

जसका कारण अहिले सबै जातजाति र भाषाभाषिले संविधान अनुसार आफ्नो अधिकार पाइरहेको भन्दै उनले अब पनि देश र संविधानको हितका गर्न आगामी पाँच वर्षका लागि पनि गठबन्धनकै सरकार निर्माण हुने बताए ।

त्यसका लागि कुनै भ्रममा नपरेर गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न देउवाले आव्हान गरे ।

ओलीकै गलत कदमले देश अलमलमा परेको दाबी गर्दै उनले अब समृद्धि र उन्नतिका लागि गठबन्धनले आगामी पाँच वर्ष सहमति र सहकार्यकै आधारमा देशलाई अघि बढाउने प्रतिवद्धता गरेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जारी हुने मतले मुलुकको भाग्य र भविष्यको मार्ग तयार गर्ने भएकाले प्रतिगमन विरुद्ध जनताले मत मार्फत शक्ति प्रर्दशन गर्नुपर्ने बताए । जसले ओली तन्त्रको सामराज्य सखाप हुने भन्दै उनले त्यसपछि कुनैपनि ताकतले संविधान विरुद्धका गतिविधि गर्न नसक्ने जिकिर गरे ।

प्रधानमन्त्री देउवाले पश्चिम नेपालमा रहेका नदी तथा खोलाहरुबाट बिद्युत उत्पादन गरेर भारतलाई बेच्ने र नेपाल धनी बनाउने योजनामा आफुहरु रहेकाले आउने पाँच वर्षको कार्यकालमा त्यो पुरा गरेरै छाड्ने बचन पनि दिए ।

अछामको कैलाशखोलामा रहेको जलविद्युतको सुरुवात आफुले नै गरेको र त्यो अहिले अवरुद्ध अवस्थामा रहेकाले त्यसलाई पनि नियमित गराउने भन्दै उनले अछामको विकास र समृद्धि संग जोडिएका सेती लोकमार्ग, चिसापानी–तुर्माखाँद–मंगसेन सडक र कमलबजार–ढकारी–बेनीघाट सडकलाई छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्ने उद्घोष गरे ।

क्षेत्र नम्बर १ को चौरपाटीमा आयोजित चुनावी सभामा अछाम क्षेत्र नम्बर १ का गठबन्धन तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा एकिकृत समाजवादीका शेरबहादुर कुँवर, प्रदेशसभा (क) का उम्मेदवार कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्का र प्रदेशसभा (ख) का उम्मेदवार माओवादी केन्द्रका झपटबहादुर साउँद तथा क्षेत्र नम्बर २ को मंगलसेनमा अयोजित चुनावी सभामा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, प्रदेशसभा (क) का उम्मेदवार माओवादी केन्द्रका अक्कल वहादुर रावल र प्रदेश सभा (ख) का उम्मेदवार कांग्रेसका मानबहादुर रावल लगायतले समृद्धि र विकास गर्न आफूहरु चुनावी मैदानमा रहेकाले गठबन्धनका पक्षमा मतादान गर्न आव्हान गरेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ४ : ३० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *