१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोट हाल्न ३ घण्टा पैदल



गोरखा । धार्चे गाउँपालिका–३ लाक्पालकी केतानी गुरुङको मतदान केन्द्र दुङ्ला आधारभूत विद्यालयमा पर्छ। त्यहाँ पुग्न उनलाई ठ्याक्कै तीन घण्टा लाग्छ। यसअघिको पार्वती आधारभूत विद्यालय मतदान केन्द्रमा भोट हाल्न जान चार घण्टा लाग्ने हुँदा जिल्ला मतदान केन्द्र निर्धारण समितिले यसपटक अलि वर सारेको हो। 

‘हामीलाई दुङ्ला पुग्न तीन घण्टा कस्सिएर हिँड्नुपर्छ,’ स्थानीय केतानी गुरुङले भनिन्, ‘जान तीन घण्टा, फर्कँदा दुई घण्टा हिँड्नुपर्छ। ठाडै उकालो बाटो भीरको बाटो हिँड्नुपर्छ। तल हेर्दा पनि रिंगटा लाग्छ। बूढाबूढी, बच्चाको आमा त भोट हाल्न जान सक्दैनन्। बिहानै गएर भोट हालेर फर्कंदा राति झिमिक्कै भइसक्छ।’ 

दुङ्लाका करिब २० घरधुरीका मतदातालाई आफ्नो मतको अधिकार प्रयोग गर्न असाध्यै कठिनाइ हुने गरेको पूर्ववडाध्यक्ष इन्द्रप्रसाद गुरुङको भनाइ छ। ‘बाटो पनि असाध्यै असजिलो छ’, उनी भन्छन्, ‘तलबाट घुमेर जाँदा बाटो त सजिलो छ। तर, ६÷७ घण्टा लाग्छ। माथिको बाटो कहाली लाग्दो छ।’ सोही वडाको खोर्लाबेंसीका मतदाता भोट हाल्न सातकन्या मावि मतदान केन्द्र खोर्लागाउँ पुग्नुपर्छ। त्यहाँका करिब ४० घरधुरीका मतदातालाई मतदानस्थल पुग्न तीन घण्टाभन्दा धेरै लाग्ने पूर्ववडाध्यक्ष गुरुङको भनाइ छ।

वडा–७ ठाँटीका बासिन्दालाई पनि मताधिकार प्रयोग गर्न सजिलो छैन। त्यहाँका १५ घरधुरीका मतदाता भोट हाल्न तीन घण्टा हिँडेर भीरकुना पुग्नुपर्छ। ‘आउँदा सिधै ओरालो झर्नुपर्छ। फर्कँदा ठाडै उकालो हिँड्नुपर्छ,’ वडाध्यक्ष राकेश गुरुङ भन्छन्, ‘आउँदा, जाँदा पाँच घण्टा पैदल हिँड्नुपर्छ।’ सडक सञ्जालले नछोएको दुर्गम भेगका बासिन्दालाई आफ्नो मत अधिकार प्रयोग गर्न पनि सहज नभएको उनको भनाइ छ।

धार्चे–१ यारुका २० घरका मतदातालाई इच्छा आधारभूत विद्यालय मतदान केन्द्र पुग्न दुई घण्टा उकालो हिँड्नुपर्छ। सोही वडाको दोभान, स्याउलीका मतदातालाई पनि मतदान स्थल पुग्न डेढ घण्टा लाग्ने वडाध्यक्ष रामसिंह गुरुङको भनाइ छ। धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा करिब ८० घरधुरीको बसोबास छ। तर, यहाँ मतदान केन्द्र छैन। 

भोट हाल्न यहाँका मतदाता डेढ घण्टा पैदल हिँडेर अमरनाथ आधारभूत विद्यालय लप्सीबोट जाने गर्छन्। ‘जंगलै जंगलको बाटो छ। त्यो पनि ठाडै उकालो छ। बर्खामा झरेको पहिरो अहिलेसम्म मर्मतसम्भार हुन सकेको छैन’, स्थानीय धनकुमार गुरुङ भन्छन्, ‘गाउँपालिकाको केन्द्र यहीँ छ। तर, मतदान केन्द्र छैन। यहाँ त मतदान केन्द्र बनाउनुपर्ने थियो तर बनाएनन्।’ 

हिमालपारिको चुमनुब्री गाउँपालिकाका धेरै गाउँबस्तीका मतदातालाई पनि मतदान गर्न दुईदेखि तीन घण्टासम्म हिँड्नुपरेको जनप्रतिनिधिहरू बताउँछन्। ‘हाम्रो लोक्पाका २२ घरका मतदाता भोट हाल्न तीन घण्टा हिँडेर सिप्चेत जानुपर्ने बाध्यता छ,’ चुमनुब्री–६ का वडाध्यक्ष सरोज लामा भन्छन्, ‘घो र रेन्जोमका २० घर, खारोङका १२ घरका मतदातालाई पनि लोङजाङ गुम्बा मतदान केन्द्र पुग्न दुई घण्टाभन्दा धेरै हिँड्नुपर्छ।’ पुरानो संरचनाका साविक वडा हुँदा निर्धारण गरिएको मतदान केन्द्र अहिले परिमार्जन नहुँदा मतदातालाई सास्ती भएको लामाको भनाइ छ।

सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिका–२ को वडा कार्यालय मतदान केन्द्र पुग्न ल्ही गाउँका ६० घरधुरीलाई डेढ घण्टा पैदल हिँड्नुपर्छ। भर्जमका मतदातालाई पनि वडा कार्यालय मतदान केन्द्र पुग्न दुई घण्टासम्म हिँड्नुपर्ने स्थानीय लाक्पा लामाको भनाइ छ। स्यालाका ४४ घरधुरीका मतदातालाई ल्होस्थित मतदान केन्द्र धाउन एक घण्टा हिँड्नुपर्ने उनले बताए। 

चुमनुब्री–३ का बासिन्दालाई पनि मतदान गर्न एक घण्टाभन्दा धेरै हिँड्नुपर्ने बाध्यता छ। चिसापानी र एक्लेभट्टीका करिब ५० घरधुरीका मतदातालाई सिदुङ प्रावि मतदान केन्द्र पुग्न एक घण्टाभन्दा धेरै लाग्ने वडाध्यक्ष रामकुमार गुरुङको भनाइ छ। त्यस्तै, २५ घरधुरी रहेको आँगाका मतदातालाई सोही मतदान केन्द्र पुग्न पनि एक घण्टाभन्दा धेरै पैदल धाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

हरेक निर्वाचन घोषणापछि जिल्लास्तरीय मतदान केन्द्र निर्धारण समितिको बैठकले केन्द्रबारे बृहत् छलफल र पुनर्निधारण गर्ने गर्छ। ‘यसपटक पनि समितिको बैठक बसेर मतदान केन्द्र थपघट गरेको हो’, जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले भने, ‘तर ती ठाउँहरूको विषयमा कुनै निर्णय भएन। 

मतदान केन्द्र निर्धारण गर्दा दूरीको आधारमा निर्धारण गर्ने व्यवस्था छैन।’ गाउँपालिकाका प्रमुखसहितको बैठकले पनि ती गाउँबस्तीका लागि विशेष व्यवस्था नगरेको हो। 

अन्‍नपूर्ण

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ०१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *