८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भत्कियो एमालेको गढ, दुवै क्षेत्रमा गठबन्धन विजयी



काठमाडाैं । अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर र क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका हुन् ।

कुँवर र शाहले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवारहरु संग फराकिलो मतान्तरले जितेका छन् ।

जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट श्रम मन्त्री शेरबहादुर कुँवर निकटतम प्रतिद्वन्द्वी भन्दा ४,४८९ मत बढी ल्याएर उनी विजयी भएका हुन् ।

कुँवरले १९,५३४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका झपट बोहराले १५ हजार ४५ मत पाएका छन् । बाम लोकतान्त्रीक गठबन्धनका तर्फबाट साँझा उम्मेदवार बनेका कुँवर नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् ।

पार्टीले टिकट नदिदा रुष्ट बनेका एमाले नेता भीम रावल चुनावी प्रचारमा समेत जिल्ला नपुग्दा एमालेले नराम्रो सँग क्षति व्यवहोर्नु परेको छ । रावल भोट हाल्न मात्रै जिल्ला पुगेका थिए ।

पार्टीले आफुलाई चुनावी प्रचारमा जान नभनेको भन्दै रावल यो पटक प्रचार अवधिभर काठमाडौंमै बसेका थिए । जिल्ला र प्रदेश कमिटीबाट एकल निर्णय गर्दा पनि केन्द्रीय कमिटीले रावललाई उम्मेदवार नबनाएर माओवादी बाट आएका बोहरालाई टिकट दिएको भन्दै कार्यक्रता तहसम्म पनि व्यापक असन्तुस्टि रहेकै कारण एमालेले हार व्यवहोर्नु परेको विष्लेषण छ ।

त्यसो त यसअघि शेरबहादुर कुँवरकै कारण भीम रावलले चुनाव जित्ने गरेको एकथरी विष्लेषण छ । केन्द्रीय राजनीतिमा जस्तो प्रभाव भएपनि जिल्ला तहमा रावल भन्दा कुँवर नै बढी लोकप्रिय रहेकै कारण उनकै प्रभावमा रावलले चुनाव जित्ने गरेका थिए ।

अछाम १ मा यो पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस महासमिति सदस्य राजन कुँवरले ४,३९२ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माले १७१, अन्य स्वतन्त्र उम्मेदवारहरु महेन्द्रबहादुर बोगटी १७१ र हिक्मत कुँवर १०२ मतका साथ पराजित भएका छन् ।

को हुन् शेरबहादुर कुँवर ?

शेरबहादुर कुँवरले २०३८ सालमा नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०४९ सालमा मालेको जिल्ला कमिटी सचिवालय सदस्य बनेर पार्टीगत राजनीतिमा आए । त्यसपछि लामो समय नेकपा एमालेमा रहेका उनी तीन पटक पार्टीको अछाम जिल्ला कमिटी अध्यक्ष बने । एमाले विभाजनपछि अहिले उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा सूदुरपश्चिम उपाध्यक्ष छन् ।

२०५४ सालदेखि २०६२ सालसम्म एमाले जिल्ला कमिटी उपसचिव र २०६२ सालदेखि २०६६ सालसम्म जिल्ला कमिटी सचिव हुँदै पार्टीको नेतृत्व गरे । पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि भने उनी २०६९ सालदेखि २०७५ सालसम्म निरन्तर जिल्ला कमिटी अध्यक्ष बने ।

नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहिसकेका उनी २०७५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको तत्कालीन नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य थिए ।

कुँवरको संसदीय यात्रा भने २०६४ सालबाट सुरु भएको हो । त्यो बेला उनी पहिलो संविधानसभा निर्वाचनमा अछाम–१ बाटै निर्वाचित भएका थिए ।

उनी संघीय संसद् राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ सालमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका थिए । राष्ट्रिय सभा सदस्य हुँदा उनी विधायन व्यवस्थापन समिति सदस्य थिए ।

हाल श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रहेका कुँवर अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी बनेका हुन् ।

२३ वर्षपछि कांग्रेसको जित

अछाम क्षेत्र नम्बर २ मा २३ वर्ष पछि एमालेको गढ भत्किएको छ । यो क्षेत्रमा लगातार हार व्यवहोर्दै आएको कांग्रेसले यो पटक सत्ता गठबन्धन दलहरुको समर्थनमा एमालेको गढ भत्काएको हो ।

यहाँ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह ७,०२० मतको अन्तरले विजयी भएका छन् । उनले जम्मा २२,९५४ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६,११४ मतका साथ पराजित भएका छन् ।

यसअघि २०७४ सालमा पनि शाह र बोगटी नै प्रतिस्पर्धामा थिए । त्यो बेला बाम गठबन्धनबाट चुनाव लडेका बोगटी संग कांग्रेसका शाह २,८५९ मतले पराजित भएका थिए । यो क्षेत्रमा २०५६ साल यताका सबै चुनावमा लगातार हारव्यहोर्दै आएको कांग्रेसले २०६४, २०७० र २०७४ मा पनि पराजित हुनु परेको थियो ।

नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्र संगको गठबन्धनले लामो समयपछि एमालेको गण भत्काउन सफल भएपछि उनीहरुले यो जितलाई उत्सवका रुपमा मनाइरहेका छन् ।

यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मिन बहादुर शाहीले २८६, नेपाल मजदूर किसान पार्टीका झंकर बहादुर शाहीले १०८ र स्वतन्त्र उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ३११ मतका साथ पराजित भएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *