६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एमाले शून्य



काठमाडौं । दुई निर्वाचन क्षेत्र रहेको अछाममा नेकपा एमाले ‘शून्य’ भएको छ । दुबै क्षेत्रमा प्रतिनिधिसभा सदस्य जित्न नसकेको एमालेले चारवटै प्रदेशसभा पनि गुमाएपछि शून्य भएको हो ।

क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी भन्दा ४ हजार ४८९ मत बढी ल्याएर विजयी भएका हुन् । उनले १९ हजार ५३४ मत ल्याएका हुन् भने एमालेका झपट बोहरा १५ हजार ४५ मतका साथ पराजित भए ।

अछाम १ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस महासमिति सदस्य राजन कुँवरले ४ हजार ३९२, हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माले १७१, अन्य स्वतन्त्र उम्मेदवारहरु महेन्द्रबहादुर बोगटी १७१ र हिक्मत कुँवर १०२ मतका साथ पराजित भएका छन् ।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनकै उम्मेदवार कांग्रेसका पुष्पबहादुर शाह ७ हजार २० मतको फराकिलो अन्तरले विजयी भएका छन् । उनले जम्मा २२ हजार ९५४ मत ल्याएका हुन् । शाहका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञ बोगटीले १६ हजार ११४ मतका साथ पराजय व्यहोर्नु पर्‍यो ।

यो क्षेत्रमा २३ वर्षदेखि निरन्तर एमालेले जित्दै आएको थियो । लामो समयपछि यहाँ एमालेको गढ भत्किएको छ ।

प्रतिनिधिसभामा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका मीनबहादुर शाहीले २८६, नेपाल मजदूर किसान पार्टीका झंकरबहादुर शाहीले १०८ र स्वतन्त्र उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ३११ मत मात्रै पाएका थिए ।

प्रदेशसभामा पनि गठबन्धनकै जित

जिल्लाका चारवटै प्रदेशसभामा पनि सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्य तर्फ कांग्रेस सुदूरपश्चिम महामन्त्री मेघराज खड्काले ५ हजार ८४० मतान्तरले जितेका छन् ।

उनले १२ हजार ३३७ मत पाएका छन् । पराजित उम्मेदवार एमालेका देवबहादुर कुँवरले ६ हजार ४९७ मत पाए ।

प्रदेशसभा (ख) मा विजयी माओवादी केन्द्रका झपटबहादुर साउँदले १२ हजार ११५ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार कृष्णप्रसाद जैसी ९ हजार १९ मतका साथ पराजित भए । साँउद र जैसी बिचको मतान्तर ३ हजार ९६ छ ।

क्षेत्र नम्बर २ प्रदेशसभा १ (क) मा माओवादीका अक्कलबहादुर रावल विजयी भएका छन् । उनले ११ हजार २३० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका भीमबहादुर बिष्टले ८ हजार ४२३ मत मात्र पाए । उनीहरु विचको मतान्तर २ हजार ७९५ छ ।

प्रदेश (ख) मा सत्ता गठबन्धनकै उम्मेदवार कांग्रेसका मानबहादुर रावलले जितेका छन् । उनले ११ हजार २१६ मत प्राप्त गरे । एमाले उम्मेदवार शिवप्रसाद उपाध्याय ८ हजार ६६४ मतका साथ पराजित भएका छन् । उनीहरु बिच २ हजार ५५२ मतको अन्तर छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : २१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *