४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हराउँदै नेपाली परम्परा



नेपाली समाजमा विविध खाले संस्कृति रहेका छन् । समाजमा खासगरी जातीय, धार्मिक, सांस्कृतिक, भाषिक विविधता देख्न सकिन्छ । त्यसैअनुरूप संस्कृतिको पनि विकास भएको छ । वास्तवमा नेपाली समाजमा विविधताभित्र एकता र एकताभित्र अनेकता देख्न सकिन्छ । संस्कृति मानिसको जीवनशैली हो । कुनै पनि मानिसले सिर्जना गरेका भाषा, कला, व्यवहार, प्रविधि, चिन्तन, साहित्य, आविष्कार आदि सबैलाई हामी संस्कृति भन्दछौँ । संस्कृतिको दृष्टिकोणबाट समाजलाई हेर्ने हो भने नेपाली समाजमा विविधता र बहुलता देखिन्छ । विविधतामा हिमाल, पहाड र तराई क्षेत्रमा बसोवास गर्ने बासिन्दाको धर्म, संस्कृति, व्यवहार, ज्ञान, सीप, मूल्य र मान्यता पर्छन् । कतिपय संस्कृति हराएर गइसके भने कतिपय रूपान्तरणसमेत भएका छन् । कतिपय लोपोन्मुख अवस्थामा छन् ।

मीत लगाउने 

नेपाली समाजमा मीत लगाउने प्रथा धेरै पुरानो हो । अभिभावकले बालबालिकालाई मीत लगाइदिँदा शुभसाइत हेरेर गर्छन् । ठूलो भएपछि आफैँ मितेरी सम्बन्ध (केही चिज आपसमा साटासाट र चुल्ठो जोडजाड गर्ने) जोड्दा खसीबोका काट्ने, सेलरोटी पकाई आफन्तहरूका बीचमा परस्पर बन्धुभाव गाँस्ने गरिन्थ्यो । नेपाली समाजमा मीत लगाउने प्रथा मध्यकालीन समयदेखि नै रहेको तथ्य स्वस्थानी व्रतकथामा प्रसाद वितरण गर्ने सन्दर्भमा पटक पटक उल्लेख गरिएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहले मितेरी सम्बन्धबाट उपत्यकामा विजय हासिल गरेको तथ्य उल्लेख छ । वि.सं. २०२८ मा नयाँ शिक्षा लागू भयो । नयाँ शिक्षाले प्रविधिको विकास ग¥यो तर मानिसलाई व्यक्तिवादी बनाउँदै लग्यो । मीत लगाउने प्रथा पनि हराउँदै गयो । हाल यो प्रचलन ग्रामीण क्षेत्रमा मात्र रहेको छ । गाउँमा पनि निकै घट्दो छ । 

लमी 

नेपाली समाजमा हराउन थालेको परम्परामा लमी प्रथा पनि एक हो । विवाहका लागि सुयोग्य वर–वधू मिलाउने व्यक्तिलाई ‘लमी’ भनिन्छ । हाल आएर शिक्षा, रोजगार, मेला, हाटबजार र प्रविधिले गर्दा केटाकेटी स्वयं जीवनसाथी छनोट गर्छन् । त्यसैले लमीको आवश्यकता निकै कम पर्ने गरेको छ । लमी प्रथा म्यारिज ब्युरोमा परिवर्तन भएको छ । म्यारिज ब्युरोले भने स्वदेशीको तुलनामा विदेशी वरवधूको विवाह गराउनमा व्यस्त भएको छ । 

लोकन्ती

सामान्यतः लोकन्ती’को अर्थ बेहुलीको साथ जाने स्त्री साथी, बेहुलीको सुसारे, लिम्बू जातिको विवाहमा दुलहातिरबाट जाने स्त्री जन्ती र दुलहीतिरबाट दुलहीका साथ लागेर आउने स्त्री भनेर बुझ्न सकिन्छ । नेपाली समाजमा लोकन्तीको प्रयोग बालविवाह गर्ने समयमा अधिक भएको हुनुपर्छ । नववधूलाई नयाँ घरमा आफ्ना मान्यजनलाई गरिने मानमनितो, आदर, सम्मान उनको सेवा गर्न माइतीले नै स्त्री सुसारे पठाउने गर्दथे । यस्ता महिला वधूको तुलनामा परिपक्व हुनुपर्छ भन्ने धारणा रहेको थियो । धनीहरू छोरीको विवाहमा लोकन्तीका रूपमा कमारा, कमारी पठाउने गर्दथे । पछिल्लो समय समाजमा यो परम्परा निकै कम हुँदै गएको छ । 

मृतक व्यक्तिको नाममा शिवलिङ्ग स्थापना गर्ने 

हिन्दु समाजमा शिवलिङ्ग स्थापना गर्नुलाई पुण्यको काम मानिन्छ । शिवले सबैको मोक्ष गर्छन् भन्ने धारणा रहेको छ । यसै सन्दर्भमा लिच्छविकालदेखि नै मृतकका नाममा आफन्तले शिवलिङ्ग स्थापना गरिएको प्रसङ्ग पाइन्छ । राजा मानदेवको समयमा व्यापारी रत्नसङ्घले पुण्य प्राप्तिका लागि रत्नेश्वर, अंशु बर्माको दिदी र भान्जीले शुरभोगेश्वर, लडितमहेश्वर (लिच्छवि अभिलेख–५२,१५८) स्थापना गरिएको प्रसङ्ग पाइन्छ । मध्यकालीन समयमा पनि यक्षेश्वर र विश्वनाथ शिवलिङ्गलाई लिन सकिन्छ । आधुनिक कालमा भीममुक्तेश्वर, रणमुक्तेश्वर र साम्राज्येश्वर शिवलिङ्गलाई उत्कृष्ट कलाको नमुना मानिन्छ । समय परिवर्तनसँगै पछिल्लो समयमा आएर मृतकको नाममा शिवलिङ्ग स्थापना गरी मोक्षको कामना गर्ने परम्परा अति न्यून छ ।

धर्म चौतारा स्थापना 

हिन्दु समाजमा चौतारा बनाउनुलाई धर्म कार्जे (कार्य) मानिन्छ । पहाडी क्षेत्रमा डाँडाको शिरानमा बर, पीपल र शमी लगाई चौतारा बनाउने गर्दथे । बटुवालाई छहारी दिन, गोठालालाई आराम गराउन, स्थानीय क्षेत्रका बासिन्दालाई न्याय दिन चौतारा स्थापना गर्नु पुरानो नियम हो । यस्ता चौतारा मुख्यतया शासक वा धनी व्यक्तिले बनाउँथे । गोरखाको राम शाहको चौतारालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । वर्तमान समयमा आएर यो परम्परा बिस्तारै हराउँदै गएको छ ।

चात्रोको परम्परा

एक ठाउँबाट अर्को ठाउँमा जाने हट्यारू (हाट जाने मानिस), बाटो हिँड्ने बटुवा, जन्त जाने बरियातलाई स्वागत गर्न राखिने सेतो रङको कपडा बिच्छ्याई त्यसमाथि पानीको घडा, दुबो र पैसालाई नै चात्रो भनिन्छ । मध्यकालीन समयमा कर्णाली र गण्डकी उपत्यकामा बाइसे र चौबीसे राज्य थिए । ती राज्यमा शासकदेखि रैतिसम्मकाले आफ्नो राज्य वा गाउँठाउँमा आउने अतिथि, जन्ती, बटुवालाई शुभसाइतको कामना गरी चात्रो राखिने परम्परा थियो । उक्त चात्रोमा राखेको सिन्दूरलाई बटुवाले आफँै लगाउने र गोजीबाट गच्छेअनुसार पैसा झिकेर भुइँको चात्रोमा राख्ने गर्दथे । यसको मूल उद्देश्य बटुवाको साइतको कामना गरिएको हो । सञ्चारको अभाव भएको बेलामा चात्रोमा राखिएको पैसाको आधारमा नवान्तुकको सङ्ख्याबारे अनुमान लगाइन्थ्यो । 

फेरी लगाउने 

नेपाली समाजमा लोप हुन लागेको परम्परामा फेरी लगाउने प्रथा पनि देखिएको छ । नेपालको मौलिक परम्परामा प्रत्येक वर्ष कात्तिक र चैत महिनामा भूमिको पूजा गरेपछि मात्र राति फेरी लगाउने प्रचलन रहेको छ । राति फेरी लगाउन जांँदा हरेकको घरमा पुगी चारवटा सुरमा र मूल ढोकामा उभिएर फुक्ने गर्छन् । फेरी फुक्दा कसैसँग बोल्नु हुँदैन भन्ने मान्यता रहेको छ । जोगी समुदाय (नाथ सम्प्रदाय)का हरेक पुरुष सदस्यले जीवनमा एक पटक अनिवार्य रूपमा फेरी फुकेर हिँड्नुपर्ने परम्परागत मान्यता छ । त्यसैले जतिसुकै विद्या आर्जन गरे पनि एक पटक फेरी लगाउन हिँड्ने गरेका छन् । वर्षको दुई पटक फेरी फुक्नाले घरमा भूतप्रेत नलाग्ने, परिवारमा सदस्यलाई रोगव्याधी नलाग्ने र दशा टरेर जाने अनि घरमा सहले वास गर्ने धार्मिक विश्वास रहेको छ । भोलिपल्ट बिहान सिधा (चामल, दाल नुन, बेसार र दक्षिणा) उठाउन जाने प्रचलन छ । 

नाथ सम्प्रदायभित्रको फेरी फुक्ने समुदायलाई गोरखनाथको अनुयायी मानिन्छ । पश्चिम नेपालमा निकै नै विकास भएको फेरी फुक्ने प्रथालाई गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यकामा मल्ल राजाहरूको जासुसी गर्नका लागि प्रवेश गराएका थिए । उपत्यकाको दैनिकी समाजमा हुने कुराकानी बुझ्न यो विधि अपनाएका थिए । कालान्तरमा खस आर्यहरू (ब्राह्मण, क्षेत्री, दशनामी सन्न्यासी र पहाडी दलित) पूर्वतिर बसाइँसराइ गर्ने परम्परामा फेरी प्रथा नेपालभरि नै फैलियो । विगतमा द्वन्द्वको समयमा फेरी लगाउने पेसामा सङ्कट परेपछि अन्य पेसा अँगाल्न बाध्य भएका थिए । साथै समयको परिवर्तनसँगै नयाँ पुस्तामा पश्चिमाकरणले प्रभाव पर्नु, महँगी बढ्नु र वैदेशिक रोजगारमा आकर्षित हुँदै जानाले यो प्रथा लोप हुन लागेको छ । 

ककड खाने

नेपाली समाजको पुराना बस्तीमा हराउन थालेको परम्परामा ककड खाने प्रथालाई पनि लिन सकिन्छ । माटोको सानो चिलिममा सुर्तीको पात माडेर राखेपछि त्यसमा आगो सल्काई धुवाँ पिउने प्रथालाई ककड खाने भनिन्छ । राणाकालमा नेपाली युवामा यो प्रथा निकै लोकप्रिय थियो । ककड खाने बहानामा साथीभाइसँग अन्तरक्रिया हुनाले सामाजिक एकता कायम रहेको थियो । २०४६ साल अघिसम्म पनि पहाडी क्षेत्रमा निकै नै लोकप्रिय रहेको थियो । नयाँ पुस्तामा ककडको वैकल्पिक रूपमा चुरोट र हुक्का तान्ने परम्परा रहेको छ । 

यसरी हेर्दा नेपाली समाजमा कतिपय संस्कृति लोपोन्मुख अवस्थामा छन् । त्यसको ठाउँमा नयाँनयाँ संस्कृतिले समाजमा स्थान ओगट्दै आइरहेको छ । जसलाई नेपाली समाजमा अवलम्बन गरिएको छ । प्रेम दिवस, मित्रता दिवस, विवाहको वार्षिकोत्सव आदिलाई लिन सकिन्छ । आधुनिकीकरणको सँघारमा उभिएको नेपाली समाजमा यस्ता संस्कृतिलाई नचाहेर पनि मानिदिनुपर्ने हुन्छ । पछिल्लो समय समाजमा नयाँ संस्कृति अवलम्बन गर्ने क्रमसमेत निकै बढेको छ । 

 -गोरखापत्र

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *