७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् एमालेको समानुपातिक सूचीमा पर्ने सम्भावित सांसदहरू



काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ सबभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेले ३३ सिट पाउने  निश्चित छ।

निर्वाचन आयोगका अनुसार अब थोरै मत गणना गर्न बाँकी भएकाले दलहरूले पाउनसक्ने सिटमा हेरफेर हुने सम्भावना कम छ। २७ लाख ८८ हजार ३५६ मत पाएको एमालेले ३३ सिट पाउने देखिएको छ।

यसमा एमालेले अधिकतम १५ जना पुरुष पठाउनसक्ने देखिएको छ। संविधानको धारा ८४(८) मा ‘संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नुपर्ने’ व्यवस्था छ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्षमा ४४ सिट जितेको छ। राष्ट्रियसभामा एमालेका १५ जना सांसद छन्। संघीय संसदमा एमालेको कुल ९२ सिट हुनेछ। संवैधानिक व्यवस्था अनुसार, संघीय संसदमा एमालेबाट कम्तिमा ३१ जना महिला सांसद हुनुपर्छ।

प्रतिनिधिसभामा निर्वाचित ४४ मध्ये ४ जना महिला निर्वाचित भएका छन्। राष्ट्रियसभामा एमालेका १५ मध्ये ९ जना महिला सांसद छन्। अर्थात १३ जना महिला सांसदमात्रै संघीय संसदमा पुगेकाले एमालेले ३३ समानुपातिक सांसदमा १८ जना महिला अनिवार्य हुनुपर्छ।

एमालेको खस आर्यतर्फ ५ जना महिला निर्वाचित हुनेछन्। मेनका कुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला खस आर्य महिला कोटाको अग्रस्थानमा छन्।

आदिवासी जनजातितर्फ नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर गरी कम्तिमा ५ जना निर्वाचित हुने भएका छन्। थारु कोटामा आश्मा कुमारी चौधरी निर्वाचित हुने निश्चितजस्तै छ। दलित कोटामा रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा निर्वाचित हुनेछन्। मधेशी कोटामा वीना देवी र अमृता देवी अग्रहरी निर्वाचित हुनेछन्। मुस्लिम कोटाबाट रुही नाज निर्वाचित हुनेछन्।

समानूपातिकतर्फ महिला पठाउनैपर्ने न्यूनतम कोटा छुट्याएर बाँकीमा पुरुष पठाउने हो भने बढीमा १५ जनाले सांसद बन्ने अवसर पाउने देखिन्छ। त्यसमा आदिवासी जनजातितर्फ बढीमा ५ जना पुरुष सांसद हुनेछन्। त्यसमा क्रमशः देवी प्रकाश भट्टचन, हेमराज राई, कालुराम राई, भीम बहादुर खवास र सरोज डंगोल छन्।

खसआर्यतर्फ पनि ५ जना पुरुष निर्वाचित हुन पाउने सम्भावना छ। त्यो सूचीमा क्रमशः रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही र खिमलाल पोख्रेल छन्। यसैगरी मधेशीतर्फ अधिकतम पुरुष छानिएमा गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र उपेन्द्रप्रसाद साहको सम्भावना छ।

दलित क्लष्टरबाट पनि एमालेले अधिकतम ३ जनासम्म पुरुष सांसद पठाउनसक्छ। यो क्लष्टरमा ईश्वरबहादुर रिजाल, प्रभु हजारा दुसाध, चन्द्रबहादुर विश्वकर्मा छन्।

थारुमा हदै भए एमालेले १ जना पुरुष निर्वाचित गर्नुपर्छ। थारु क्लष्टरको १ नम्बरमा सत्यनारायण चौधरी छन्। मुस्लिम कोटामा १ जनामात्रै निर्वाचित हुनेछन्, जसमा एमालेले अनिवार्य रुपमा महिला पठाउनुपर्ने भएकाले पुरुषको सम्भावना छैन। तर अरु क्लष्टरको न्यूनतम सांसद पठाएर बाकी रहने हिस्सामा भने मुस्लिम सांसद थप्न सक्नेछ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ११ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *