७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङ कारागारका कैदीबन्दीलाई प्रहरीले भगाएको पुष्टि



विराटनगर। विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङका २ जना कैदीबन्दीलाई प्रहरीले नै भगाएको पुष्टि भएको छ। 

कैदी झापा गाउँपालिका–५ शरणामतिका २८ वर्षीय राजकुमार हेमरन र बन्दी झापा गाउँपालिका–३ का २८ वर्षीय मञ्जिल गुरुङ प्रहरीसँगै ‘सेटिङ’ मिलाएर फरार भएको अनुसन्धानबाट खुलेको हो। विराटनगरको क्षयरोग उपचार केन्द्रबाट दुवै जना गत असोज १५ गते बिहान भागेका थिए। 

क्षयरोगको समस्या रहेका उनीहरूलाई उपचारका लागि विराटनगर–७ स्थित क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएको थियो। 

उनीहरूको सुरक्षामा प्रहरी सहायक हवल्दार अरुणकुमार चौधरी र जवान कृष्णमणि मेहता खटिएका थिए। सुरक्षामा खटिएका प्रहरीसँगै मिलेमतो गरेर हेमरन र गुरुङ भागेको पुष्टि भएको हो। 

जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भएका हेमरनलाई प्रहरीले भागेको डेढ महिनापछि गत मंसिर १ गते पक्राउ गरिसकेको छ। गुरुङ अझैसम्म फरार छन्। 

अदालतले हेमरनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो। लागूऔषध मुद्दामा गुरुङलाई अदालतले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो। उनको मुद्दाको किनारा लाग्न बाँकी छ। 

कैदीबन्दी फरार भएपछि सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरेर घटनाको छानबिन एवं अनुसन्धान अघि बढाइएको थियो। 

छानबिनका लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले पनि एसएसपी जयराज सापकोटाको नेतृत्वमा समिति बनायो। ड्युटीमा खटिएका प्रहरीकै कमजोरीले घटना भएको निस्कर्ष निकाल्दै समितिले दुवै जनाविरुद्ध कारागार ऐनअन्तर्गत कारबाही अघि बढाउन सिफारिस गरेको थियो। 

निमित्त जेलर तुलसीराम भगतको नेतृत्वमा कारागारले गरेको अनुसन्धानबाट कैदीबन्दी भगाएको घटनामा जवान मेहताको संलग्नता पुष्टि भएको छ। घटनामा सहायक हवल्दार चौधरीको भने संलग्नता नदेखिएको निमित्त जेलर भगतले बताए। ‘ड्युटीमा खटाइएका प्रहरीको मिलेमतोमै कैदीबन्दी भागेको अनुसन्धानबाट पुष्टि भयो,’ उनले भने। 

सरकारी वकिल कार्यालयसँग राय लिएर अभियोगपत्र तयार पार्दै कारागारले सुनसरीको देवानगन्ज घर भएका प्रहरी जवान मेहताविरुद्ध कारागार ऐनअन्तर्गत कैदीबन्दी भागे–भगाएको शीर्षकमा बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको छ।

साथै अदालतबाट आदेश नआएसम्मका लागि उनलाई हिरासतमा राख्नका लागि कारागारले जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार पनि गरेको छ। भगतका अनुसार कैदी हेमरन, बन्दी गुरुङ र प्रहरी जवान मेहतालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको हो। 

‘कैदीबन्दी भागेको घटनामा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। प्रहरी जवानलाई हिरासतमा राख्नका लागि प्रहरी कार्यालयलाई पत्राचार पनि गरियो,’ भगतले भने, ‘अदालतबाट आदेश नआएसम्मका लागि उनलाई हिरासतमै राख्नुपर्ने हुन्छ। यसअघि दुवै जना प्रहरी कर्मचारीलाई हाजीरजमानीमा छाडिएको थियो।’ 

अनुसन्धानबाट प्रहरीले नै कैदीबन्दी भगाएको पुष्टि भए पनि अदालतबाट प्रमाणित भने हुन बाँकी रहेको जानकारी उनले दिए। 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *