४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जेट विमान अवतरण



कास्की । निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ।

आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो। 

यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ। सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो। हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा प्राविधिक कारणबाट सो विमान अवतरण गर्न नसक्ने भएकाले यसअघि पोखरामा सौर्यको उडान थिएन। सो एयरलायन्सले अंग्रेजी नयाँ वर्षदेखि नियमित उडान गर्ने जनाएको छ।

विगत आठ वर्षदेखि आन्तरिक उडानमा सक्रिय सौर्यले काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान गर्ने पोखरा स्टेसनका इन्चार्ज जितेन्द्र यादवले बताए। 

उनका अनुसार युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय ‘सिआरजे २००’ जहाजमा जेट इन्जिन भएकाले सुरक्षित एवं आरामदायीसहित द्रुत गतिको मानिन्छ।

हवाई सेवा सञ्चालनसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने यादवले बताए। यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता बनाएको एयरलाइन्सले पर्यटनका गतिविधिलाई थप सशक्त बनाउन काठमाडौं र पोखराका पर्यटन व्यवसायीसँग समन्वय गर्दै अघि बढ्ने जनाएको छ।

इन्चार्ज यादवले भने, ‘हाम्रो सेवालाई थप चुस्त बनाउने क्रममा पोखराको इतिहासमै पहिलोपटक जेट विमानमार्फत यात्रुलाई सेवा गराउन पाउनु कम्पनी र यात्रुका लागि खुसीको कुरा हो । पोखराको इतिहासमा पहिलोपटक जेट विमानमार्फत यात्रा गराउन लागेका छौँ।’ 

पोखरा–काठमाडौं भाडा सुरुवातमा न्यूनतम रु चार हजार एक सय तोकिएको छ। यात्रुको चापअनुसार अन्य एयरलाइन्ससरह मूल्य तोकिने कम्पनीले जनाएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै विमान कम्पनीहरूले परीक्षण उडान गर्दै आएका छन्।

केही दिनअघि बुद्ध एयर र यति एयरलाइन्सले सफलतापूर्वक परीक्षण उडान गरेका थिए। पुस १७ देखि नवनिर्मित विमानस्थलदेखि आन्तरिक हवाई सेवा दिनका लागि कम्पनीले कार्यालय व्यवस्थापनलगायतका कार्य गरिरहेका छन्।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *