१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छापिएका ७ लाख थान राष्ट्रिय परिचयपत्र विभागमा थन्किए, वितरणको योजना नै छैन



काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन। अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन्।

हालसम्म सात लाख जनाको राष्ट्रिय परिचयपत्र कार्ड छपाइ सम्पन्न भए पनि एक लाख २४ हजार मात्र वितरण गरिएको छ। विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालले अहिले राष्ट्रिय परिचयपत्र वितरणभन्दा पनि विवरण सङ्कलन कार्यलाई विभागले प्राथमिकता दिएकाले छपाइ अनुसारको कार्ड वितरण हुन नसकेको बताए । उनले भने, “विभागको अहिले मुख्य काम विवरण सङ्कलन हो। सङ्कलन कार्य सम्पन्न नभएसम्म कार्ड बाँड्ने काम प्राथमिकतामा पर्दैन, प्राथमिकतामा राख्न मिल्दैन पनि।”

परिचयपत्रका लागि देशैभर विवरण सङ्कलन गरिए पनि अहिले वितरण कार्य भने सिंहदरबारस्थित विभागको केन्द्रीय कार्यालय तथा काठमाडौँ र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट मात्र गरिएको  छ। २०७५ मङ्सिर ३ गते पाँचथरको फिदिम नगरपालिका–४, शान्तिपुरकी १०१ वर्षीया वृद्धा भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर थालिएको थियो।

ढकालका अनुसार अहिले विभागले मुलुकभर एक हजार ६८ केन्द्रबाट विवरण सङ्कलन गरिरहेका  छन्। अहिले नै ती केन्द्रले विवरण सङ्कलनको सट्टा कार्ड वितरण गर्न थाल्ने हो भने सङ्कलन कार्य अवरुद्ध हुनसक्छ।

व्यक्तिलाई राष्ट्रिय परिचयपत्रको कार्डभन्दा पनि त्यसको नम्बर आवश्यक रहेको बताउँदै निर्देशक ढकालले भने, “कार्ड बोके पनि प्रयोग हुने त्यसको नम्बर नै हो। कार्डको फोटोकपी होइन। विवरण सङ्कलनको समयमा जुन नम्बर दिइन्छ, त्यही नम्बर कार्डमा पनि हुन्छ। त्यसैले नम्बर पाउनु भनेको कार्ड पाउनुसरह नै हो।” हाल राष्ट्रिय परिचयपत्रको नम्बर राहदानी बनाउनका लागि अनिवार्य छ।

पहिले विवरण दिनेको पहिले नै आउँदैन

परिचयपत्र नम्बर र छपाइ पनि पहिला विवरण दिनेले नै पाउँछन् भन्ने छैन। सङ्कलन गरिएको मितिका आधारमा त्यसले कार्ड वितरणमा कुनै असर नपर्ने ढकालले बताए। उनका अनुसार सफ्टवेयरले नम्बर जारी गर्ने हुँदा त्यसमा अङ्कको तलमाथि हुन्छ र त्यसैअनुसार छापिन्छ। उनले भने, “एकै दिन विवरण दिएका दुई जनाबीचको अङ्कमा एक लाखसम्मको फरक पर्न सक्छ र एउटाले विवरण दिएको चार महिनापछि कार्ड पाउन सक्छ भने अर्कोले कार्ड पाउन एक वर्ष पनि लाग्न सक्छ।”

अहिलेको प्रणालीका आधारमा कुन मितिसम्म विवरण सङ्कलन गरिएकाहरूको कार्ड तयार भयो वा वितरण भयो भनेर भन्नसक्ने अवस्था नरहेको निर्देशक ढकालले स्पष्ट पारे । कार्ड तयार भएका व्यक्तिको मोबाइलमा कार्ड लिन आउन विभागबाट सन्देश (म्यासेज) आउने गरेको छ। परिचयपत्रका लागि जुन ठाउँबाट व्यक्तिको विवरण सङ्कलन गरिएको हुन्छ, त्यहीँबाट मात्र सम्बन्धित व्यक्तिले कार्ड पाउनसक्ने उनले स्पष्ट पारे

एक करोड दुई लाखको विवरण सङ्कलन

परिचयपत्रका लागि मङ्सिरसम्ममा एक करोड दुई लाख ९३ हजार १३७ जनाको विवरण सङ्कलन गरी नम्बर प्रदान गरिएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ सम्ममा विवरण सङ्कलन कार्य सम्पन्न गर्ने लक्ष्य सरकारको रहेको उनको भनाइ छ। अहिलेसम्म ४५ जिल्लामा विवरण सङ्कलन अभियान सम्पन्न भइसकेको र १६ जिल्लामा सञ्चालनमा छ। ढकालले भने, “देशभरि हरेक दिन कोही न कोही १६ वर्ष पुगिरहेको र नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको हुन्छ। त्यसैले राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलन, कार्ड निर्माण र वितरण कार्य निरन्तर चलिरहन्छ।”

चिप्स र विशेष सङ्केतसहितको यो परिचयपत्रमा सम्बन्धित व्यक्तिको हातका दसवटै औँलाको छाप, अनुहार तथा आँखाको आकृति जडित हुन्छ। यो परिचयपत्रले व्यक्तिको राहदानी, जमिनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोबारका विवरणलाई समेत प्रमाणित गर्ने बताइएको छ। यो परिचयपत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्नुका साथै नेपाली, गैरआवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई यकिन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

नेपाली नागरिकताको प्रमाणपत्रको कमी–कमजोरीलाई समेत यो परिचयपत्रले हटाउने र नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका सबै नेपाली वा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने मापदण्ड पुगेका सबै नेपालीले यो राष्ट्रिय परिचयपत्र सजिलै प्राप्त गर्न सक्ने विभागले जनाएको छ।   

-गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *