८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री शाहद्वारा १५ शैयाको ‘दोदोधरा आधारभूत अस्पताल’ को उद्घाटन



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको बर्दगोरियामा निर्माण भएको १५ शैयाको ‘दोदोधरा आधारभूत अस्पताल’ को उद्घाटन गरेका छन् ।

शुक्रबारदेखि एक कार्यक्रमकाबीच सञ्चालनमा आएको अस्पतालबाट बहिरङ्ग सेवासहितका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिए ।

अस्पतालबाट २४ सैं घण्टा आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका सेवा प्राप्त हुने स्वास्थ्य शाखा प्रमुख रावतले बताए ।

आधारभूत स्वास्थ्य अस्पतालको उद्घाटनका अवसरमा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले गाउँपालिकाबासी सेवा प्राप्त गर्न अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्न आधारभूत अस्पताल सञ्चालन ल्याइएको बताए ।

‘सामान्य उपचारका लागि पनि अन्यत्रै धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘त्यसमा पनि स्वास्थ्य सेवा अत्यन्तै महँगो र सर्वसाधारणको पहुँचभन्दा बाहिर गइरहेकाले सोको अन्त्यका लागि अस्पताल सञ्चालनमा ल्याएका हौँ ।’

अस्पतालका लागि आवश्यक पर्ने उपकरणको व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट अपेक्षा गरिएको उनको भनाई थियो ।

अध्यक्ष कुँवरले बर्दगोरिया गाउँपालिकामा स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा जनताका आधारभूत आवश्यकता पूरा गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले स्वास्थ्य बीमा कार्यक्रम पनि अस्पतालबाट सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । उक्त अस्पतालमा एक जना मेडिकल अधिकृतसहित १४ जना जनशक्तिले हालसम्म सेवा दिइरहेका छन् ।

थप स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि १७ जना कर्मचारीको पदपूर्ति गर्न लागिएकोसमेत उनले बताए ।

साविकको दोदोधरा स्वास्थ्य चौकीको स्तरोन्नति गरि १५ शैयाको दोदोधरा अस्पताल बनाइएको हो ।

सरकारले गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न ५ सय बढी पालिका आधारभूत अस्पतालहरु निर्माण गरिरहेको छ ।

सरकारले पहिलो चरणमा देशभर ३९६ स्थानीय तहमा ५ देखि १५ शैयासम्मको आधारभूत अस्पतालको स्थापना तथा स्तरोन्नति गरेको थियो । सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसंख्या आधारमा हरेक स्थानीय तहमा ५, १० र १५ शैयाको आधारभूत अस्पताल स्थापना गर्ने नीति लिएको थियो ।

अस्पताल नभएका स्थानीय तहमा क्रमशः भवन निर्माण गर्दै जाने योजनाअनुसार स्वास्थ्य मन्त्रालयले दुई चरणमा गरी ६५५ वटा आधारभूत अस्पताल बनाउन स्थानीय तहलाई स्वीकृति दिएको थियो ।

सोही अनुरुप १७ मंसिर २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैसाथ शिलान्यास गरेका थिए । तर, कतिपय स्थानीय तहमा संघीय सरकारले रकम उपलब्ध गराउन नसक्दा अनुमति पाएका आधारभूत अस्पतालको निर्माण रोकिएको छ ।

देशभरका १८१ आधारभूत अस्पतालको निर्माण कार्य सुस्तगतिमा अघि बढिरहेका बेला कैलालीको बर्दगोरिया गाउँपालिकास्थित ‘दोदोधरा आधारभूत अस्पताल’ भने सम्झौता अवधिभन्दा चारमहिना अगावै निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ ।

बर्दगोरियामा एक स्वास्थ्य चौकी र चारवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । संघीय सरकारबाट प्राप्त बजेट अनुदानमा अस्पतालको भवन निर्माण सम्पन्न भएको थियो ।

८ हजार ६ सय ३९ गाउँपालिकाबासीको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न १३ करोड ८३ लाख १८ हजार २८६ रुपैयाँको लागतमा निर्माण सम्पन्न अस्पताल गत बैशाख ५ गते गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।

लुम्बिनी/योदुङ/शिव खिम्ती जे.भी.ले निर्माण गरेको सो अस्पताल भवन, खानेपानीको लागि बोरिङ कार्य, ट्रान्फर्मर खरिद तथा जडान, ल्याडस्केपिङ, भवनको सेनटरी र इलेक्ट्रिकल कार्यको सम्झौता गरेको गरेको थियो ।

कम्पनीले २० असार २०७८ मा सम्झौता गरेको निर्माण कम्पनीले २० असार २०८० मा सम्पन्न गर्ने लक्ष्य लिएपनि सो अवधिभन्दा ४ महिनाअगावै सम्पन्न गरेको हो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *