काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेकोमा नेपाल सरकारले उचित सम्मान गर्ने बताएका छन् ।
एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई प्रधानमन्त्री प्रचण्डले बधाई व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको कुवेत विरूद्धको खेल रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको हो । भारी वर्षाका कारण रद्द भएपछि नेपालले फाइनल खेल युएईसँग खेल्ने भएको हो ।
‘एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ ।
सुरूमा टस हारेर ब्याटिङ गरेको नेपालले २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर कुवेतले ब्याटिङ गरेको केहीबेरमै वर्षा हुन थालेको थियो ।
कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो । नेपालका लागि करण केसीले ५ विकेट र सोमपाल कामीले एक विकेट लिएका थिए ।
त्यसपछि वर्षा हुन थालेपछि खेल हुन नसक्दा रद्द गरिएको थियो । यता युएईले पनि ओमानलाई डिएलएस मेथडबाट पराजित गरेको हो ।
मुलपानी मैदानमा भएको ओमान र यूएईबीचको अर्को सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भयो । जसका कारण युएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुगेको हो ।
अब उपाधिका लागि यूएई र नेपालबीच आगामी सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ । उक्त खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ । एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया