कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुँरास सामुदायिक वन उपभोक्ता समूहको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिमबहादुर कुँवरको अध्यक्षतामा बसेको साधारण सभामा वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहेका थिए भने, सवडिभिजन वन कार्यालय बौनियाका फरिष्टर विनोद सुवेदी विशिष्ट अतिथि रहेका थिए । साधारणसभामा आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सामुदायिक वनका कार्यालय सचिव यज्ञराज बन्तोलाले कुल ५५ लाख ७१ हजार ४ सय ४८ रुपैयाँको आयव्यय प्रस्तुत गरेका थिए । उक्त आर्थिक वर्षमा सामुदायिक वनले घाँसदाउरा बिक्रीबाट ४ लाख ३७ हजार ९३० रुपैयाँ, आन्तरिक काठ बिक्रीबाट ७ लाख ५१ हजार २ सय ७५ रुपैयाँ, गोलिया काठ/दाउरा लिलाम बिक्रीबाट ४० लाख ७९ हजार ३ सय ६५ रुपैयाँ र आपूर्ति काठ बिक्रीबाट ३ लाख २ हजार ९ सय १८ रुपैयाँ आम्दानी गरेको छ ।
यस्तै, खर्चतर्फ वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनामा १२ लाख ९० हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । वनमा तारजाली ५ लाख ८१ हजार ६८१ रुपैयाँ खर्च गरेको छ । आर्थिक सहयोग ४ लाख ६४ हजार ४ सय रुपैयाँ, अग्नि नियन्त्रणमा १५ हजार ५ सय रुपैयाँ, काडेतार, नर्सरी घेराबारमा १ लाख १ हजार ४० रुपैयाँ आन्तरिक काठ चिरानमा १ लाख ८१ हजार २ सय ८९ रुपैयाँ खर्च गरेको छ । डेण्डर आव्हानमा ६० हजार रुपैयाँ र टेण्डर सदरमा १५ हजार रुपैयाँ खर्च गरेको छ ।
कार्यक्रममा जगदम्बिके भगवती मावि शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द बुढाक्षेत्री, रामजानकी मन्दिर संरक्षण समितिका अध्यक्ष शिवराज गौतम, रानीकुण्डा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष टंकराज ओली, शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष आत्माप्रसाद जैशी, न्यायपालिका सदस्य बसन्ती साउँद लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागिले सामुदायिक वनले दीगो वन व्यवस्थापन रणनीति, चोरीतस्करी, डढेलो नियन्त्रण, उपभोक्ता लक्षित कार्यक्रम तथा सामाजिक सुधार, विकास निर्माणका क्षेत्रमा कार्य गर्न सुझाब दिएका थिए । सामुदायिक वनमा वार्षिक लाखौँको आर्थिक कारोबार हुने गरेको भएपनि स्थानीय उपभोक्ता लाभान्वित हुने खालका जीविकोपार्जन, सीपमूलक तथा गरीबी निवारण एवं आयस्तरवृद्धि गर्न योजना तथा कार्यक्रम नभएको औँल्याएका थिए ।
सामुदायिक वनले स्रोत र साधनको समुचित प्रयोग गर्दै भावी दिनमा सुधार कदम चाल्न आवश्यक रहेको उनीहरुले धारणा राखेका थिए । ४ सय ४४ दशमलब ८७ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा ९ सय ८१ जना उपभोक्ता आबद्ध छन् । कार्यक्रमको सञ्चालन सामुदायिक वनका सहसचिव भेषराज जैशीले गरेका थिए ।
प्रतिक्रिया