७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डीनको टोलीद्वारा बर्दगोरिया कलेजको सम्भाव्यता अध्ययन



कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत डीनको कार्यालयका एसोसिएट प्रोफेसर मदन पोखरेल र मदन कँडेलसहितको टोलीले बर्दगोरिया कलेज स्थापनाका लागि सम्भाव्यताको खोजी गरेको हो ।

कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न मिल्ने, नमिल्ने सम्भाव्यताबारे अध्ययन गर्न आएको टोलीले बुधबार स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखसहित सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल गरेको छ । टोलीले विभिन्न ठाउँको स्थलगत अवलोकनसमेत गरेको हो ।

कलेजको भौतिक संरचना निर्माण गर्न पर्याप्त जग्गा चाहिने भएकाले त्यसको उपलब्धता तथा मुख्य सडकसँगको पहुँचलाई ध्यान दिएर जग्गा खोजी गर्ने क्रममा विभिन्न ठाउँ पुगेर अध्ययन गरिएको छ । कलेज खोल्न धेरै जमिन र उपयुक्त वातावरण चाहिने भएकाले वडा नं. २ स्थित राजकुला सामुदायिक वन क्षेत्रको अवलोकन गरिएको जनाइएको छ । बर्दगोरिया गाउँपालिकाभित्र जग्गाको उपलब्धता, जनसंख्या, स्वास्थ्य अवस्था, माध्यमिक तहका विद्यालयको अवस्था, विद्यार्थी अनुपात, साधन र स्रोत व्यवस्थापनका विषयमा चासो व्यक्त गर्दै टोलीले जनप्रतिनिधि, र सरोकारवालासँग आवश्यक छलफल र अन्तर्क्रिया गरेको हो ।

अन्तर्क्रियाका क्रममा व्यवस्थापन संकायको सम्भाव्यता अध्ययन टोलीका एसोसिएट प्रोफेसर मदन कँडेलले कलेज सञ्चालन गर्न अनुमति दिईने तर, दीर्घकालीन आर्थिक स्रोत व्यवस्थापनका लागि ठोस निर्णय लिन आवश्यक रहेको बताए । उनले स्थानीय सरकार, सामुदायिक संघसंस्था र अन्य राजनीतिक दलसँग साझेदार गरी अघि बढ्न सुझाब दिए ।

कलेज सञ्चालनको सम्बन्धनपछि ठाउँसारी र नामसारीको लागि कलेज स्थापना गर्न पर्याप्त ठाउँ भए/नभएको, भवन भए/ नभएको र भविष्यमा स्थापना हुने जग्गा भए/नभएको लगायत सामुदायिक स्तरको कलेज भएकाले समुदायले थेग्न सक्ने या नसक्ने र दीर्घकालीन स्रोत व्यवस्थापनका आधारहरु केके छन्? भन्ने विषयमा टोलीले जानकारी लिएको प्रस्तावित बर्दगोरिया कलेजकी सदस्य सचिव एवं प्रमुख चन्दा खरेलले बताईन् ।

‘कलेज स्थापनाका लागि व्यवस्थापन संकायको सम्भाव्यता अध्ययन गर्न टोली आएको हो ।’ कलेज प्रमुख खरेलले भनिन्–‘ कलेज सञ्चालनको एकवर्षे शैक्षिक कार्यकाल पूरा गरिसकेपछि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) सँग जोडिन कलेजको पहिलो वर्षको नतिजा प्रकाशित भएसँगै अनुदान प्राप्त गर्न आवश्यक विद्यार्थी संख्या र नतिजा हेरिन्छ ।’

आयोगको टोलीसँग यसक्षेत्रको समस्या, थारु, आदिवासी/जनजाति, मुक्तकमैया, दलितको बाहुल्यता भएको ठाउँमा सबैजना बाहिर पढ्न जान नसक्ने र आर्थिक हैसियत एकदमै न्यून भएका जनताले पनि सहजै पढ्न आवश्यक भएको विषय दर्शाएको उनले बताईन् ।

यस्तै, बर्दगोरियामा कलेज स्थापनाको आवश्यकता रहेको जनाउँदै गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले आयोगको टोलीसँग कलेज सञ्चालनका लागि सहयोगको अपेक्षा राखेको र आगामी आर्थिक वर्षमा स्थानीय सरकारले पालिकाबाट आवश्यक वार्षिक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

विद्यार्थीको चाप र अध्ययनका लागि टाढाका कलेज धाउनुपर्ने बाध्यतालाई मध्येनजर गर्दै पालिकाले अन्य विकास निर्माणलाई घटाएर पनि क्याम्पस संचालनमा पूर्ण रुपमा तयार रहेको अध्यक्ष कुँवरले बताए । पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले जनप्रतिनिधिहरुको टोलीले बर्दगोरियमा क्याम्पस ल्याउन विगतदेखि पहल गरेको जनाउँदै कलेज ल्याउन सफल भएकोमा खुशी व्यक्त गरे ।

अन्तर्क्रियामा वडा नं. १ का वडाध्यक्ष एवं प्रवक्ता मिथुन गौतमले स्थानीय सरकार क्याम्पस सञ्चालनमा लगानी गर्न तयार रहेको बताए । उनले आफूले सामाजिक विकास समितिको जिम्मेवारी पाएका कारण पनि शिक्षा क्षेत्रमा कसरी फड्को मार्न सकिन्छ भन्नेतर्फ चिन्तित रहेको बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  १० : ५३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *