१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाले भन्यो, ‘टीकापुर घटनाका दोषीलाई आममाफी दिनु विधि र कानुनी व्यवस्था अनुकुल’

जघन्य अपराध क्षम्य हुन सक्दैन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले टीकापुरमा भएको हिंसात्मक घटनामा दोषीलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकुल भएको जनाएको छ ।

पार्टी महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै जघन्य अपराधमा अपराधी ठहर भएका व्यक्तिलाई आममाफी दिने कानुनी व्यवस्थाको मर्म विपरीत हुने गरी उन्मुक्ति दिने कार्य गम्भीर मानवअधिकारको उल्लंघनसमेत भएको जनाएको छ ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका पूर्व सांसद रेशम चौधरीलाई कैदबाट मुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वंयले चौधरीलाई छुटाउन विद्यमान कानुनमा संशोधन गरेर होस् या अन्य तरिकाले सरकार लागिपरेको भन्दै सरकारको यो कदम पुर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभई पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई दुरुप्रयोग गरी तीनै तहको अदालतबाट जन्मकैद पाएका चौधरीलाई यही जेठ १५ गते गणतन्त्र दिवसको दिन छुटाउन नियोजित रूपमा सरकार लाग्नु कतही विधि सम्मत होइन जारी विज्ञप्तिमा उल्लेख छ ।

आममाफीको व्यवस्था भनेको कैद भुक्तानी गरिरहेका व्यक्तिको चालचलन तथा अन्य मानवीय अवस्थालाई विचार गरी निजलाई सत्मार्गमा अगाडि बढ्न दिइने एक अवसर भएको जनाएको हो । सरकारको कदम मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ तथा सजाय माफी, मुल्तजी तथा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ को समेत विपरित रहेको रास्वपाले जनाएको छ ।

कुनै पनि राजनीतिक अभियानका क्रममा कुनै पनि समुदायका निर्दोष नागरिकहरु पीडित हुन नहुने जनाउँदै नागरिकका हक अधिकार प्राप्तिका लागि गरेका कुनै पनि आन्दोलनप्रति हाम्रो विमति छैन तर, राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन नसक्ने बताएको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयकको संशोधन प्रस्ताव राख्ने क्रममा पार्टीले सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य अपराधका अपराधीलाई छुट हुनु हुँदैन भन्ने कुरा उठाएको थियो । कुनै पनि अपराधको निरुपण निष्पक्ष न्यायिक प्रक्रियाबाट हुनुपर्छ । यस्तोमा कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार्य हुँदैन विज्ञप्तिमार्फत भनिएको छ ।

रास्वपाले टीकापुर घटनाको छानविन गर्न सरकारद्वारा गठित लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न मागसमेत गरेको छ । आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकुल नरहेको भन्दै सरकारलाई सचेतसमेत गराएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १० : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *