कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ का २५ परिवारलाई बाख्रा वितरण गरिएको छ । पशुसेवा शाखाको पशुपन्छी विकास कार्यक्रम अन्तर्गत शुक्रबार बाख्रा वितरण गरिएको हो ।
निम्न आयस्तर भएका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई एकवटाका दरले स्थानीय खरी जातको बाख्रा वितरण गरिएको बताइएको छ । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार गर्न मुक्तकमैया, दलित, विपन्नवर्ग तथा एकल महिला लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताए ।
उनले जीवन निर्वाहमुखी कृषि प्रणालीभन्दा माथि उठेर व्यवसायिक ढंगले लाग्न आग्रह गरे । विपन्नको आयस्तर उकास्नका लागि कार्यक्रम ल्याएको बताउँदै अध्यक्ष कुवँरले वितरण गरिएका बाख्रा तथा पशुपालनबाट लाभग्राहीले राम्रो प्रतिफल प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाका प्रमुख जयप्रसाद कोइरालाले कृषिको व्यावसायिकरणको क्रममा ठूला कृषक समेटिने तर, निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताए । निर्वाहमुखी कृषक कार्यक्रममार्फत २५ घरपरिवारलाई स्थानीय खरी जातको बाख्रा वितरण गरिएको उनले जानकारी दिए ।
पशुपन्छी विकास कार्यक्रम अन्तर्गत २ लाख ८७ हजार रुपैयाँ बराबर २६ वटा बाख्रा र बोका खरिद गरी वितरण गरिएको बताए । शाखा प्रमुख कोइरालाले गाउँपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिने पनि बताए ।
नव उद्यमीलाई प्रविधि हस्तान्तरण
बर्दगोरिया गाउँपालिकाको आयोजनामा लघुउद्यम कार्यक्रम अन्तर्गत विपन्न वर्गलाई बाख्रा र कुमाले पेसा अंगाल्दै आएका परिवारलाई मेसिन वितरण गरिएको छ । गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत कार्यक्रम आयोजना गरिएको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता गुलसन कुमारी चौधरीले बताइन् ।
‘आर्थिक सम्वृद्धिको आधार, लघुउद्यम मार्फत् स्वरोजगार’ नारासहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा कार्यक्रम गरिएको उनले बताइन् । शुक्रबार गाउँपालिकाको वडा नं. ३ का १३ परिवारलाई बाख्रा वितरण गरिएको छ भने, माटोका सामग्री निर्माण गर्ने कुमालेको पेसा अंगाल्दै आएका एक परिवारलाई मोटरसहितको मेसिन वितरण गरिएको छ ।

विपन्न, बेरोजगार, दलित, जनजातिलाई बाख्रा वितरण गरिएको बताउँदै चौधरीले आर्थिक अवस्थाको पहिचान गरी निर्देशिका अनुसार कार्यक्रम ल्याइएको उद्यम विकास सहजकर्ता चौधरीले बताइन् । ‘सुरुमा गरीब घरपरिवारको फाराम भरेर आर्थिक अवस्थाको पहिचान गर्छौँ’ उनले भनिन् ‘त्यसपछि उद्यमशिलता विकास र सीप विकास तालिम चलाइसकेपछि मात्रै मेसिन, औजार तथा प्रविधि हस्तान्तरण कार्यक्रम हुन्छ ।’
उनले निम्न आयस्तर भएका गरीब, विपन्न वर्गका परिवारको सीप, उद्यमशिलता विकास तथा व्यासाय प्रवर्द्धन, आयस्तरवृद्धि र स्वरोजगारमा जोड दिनु नै कार्यक्रमको उद्देश्य रहेको बताइन् ।
प्रतिक्रिया