काठमाडौं । नेपाल छुवाछूतमुक्त घोषणा भएको आज १७ वर्ष पूरा भएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ ।
२०५८ साउन ३२ गते छुवाछूत अन्त्य गर्ने प्रतिबद्धतासहित त्यही वर्ष राष्ट्रिय दलित आयोगको स्थापना भएको थियो । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । तर समाजमा रहेको सोच र चेतनास्तरका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन ।
सन् २०२० मा राष्ट्रसङ्घले गरेको एउटा सर्वेक्षण अनुसार ९७ प्रतिशत दलित जातीय विभेद र छुवाछूतबाट पीडित रहेका पाइएको थियो । यस दिवसका अवसरमा शुभकामना व्यक्त गरी राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत मानवीय गरिमाविरुद्धको अपराध रहेको बताएका छन् ।
उनले छुवाछूत तथा विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको पनि बताएका छन् ।
प्रतिक्रिया