२२ भाद्र २०८१, शनिबार | Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठेक्काको एक वर्षमा पनि किन बनेन कुहिरे खोलामा पुल?

स्थानीय भन्छन् : ठेकेदारको चरम लापरबाही



कैलाली । निर्माण सम्झौताको एक वर्ष बित्नै लाग्दा पनि कैलालीको बर्दगोरियास्थित कुहिरे खोलामा पुल निर्माण कार्यले गति लिन सकेको छैन । महेन्द्रराजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिकाको वडा नं. २ र ३ को सीमाना जोड्ने बौनिया–साँफेबगर सडकखण्डको कुहिरे खोलामा एकवर्ष अघि सम्झौता गरिएको थियो ।

सडक पुल निर्माणको जिम्मेवारी पाएको नारायनम् सेवा प्रालिको ढिलासुस्तीले उक्त आयोजनाको काम अलपत्र परेको हो । ०७९ असारमा ३३ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको थियो । तर, सम्झौताको एकवर्ष बित्नैलाग्दा पनि कामको सुरसार देखिएको छैन ।

ठेक्का सम्झौता गरि पुल निर्माणको काम सुचारु नगरेको भन्दै स्थानीय सरकारले निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले पालिका क्षेत्रभित्र पर्ने पुलपुलेसा निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी गरेको हो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष मिथुन गौतमले योजना निर्माणलाई गति दिन निगरानी बढाइएको र ढिलासुस्तीप्रति स्थानीय सरकारले चासो दिएको बताए । ‘पुल निर्माणको ठेक्का प्रक्रियापछि पनि ठेकेदार सम्पर्कमा नआएपछि कारबाही गर्ने कार्यपालिका बैठकमा निर्णय भएको हो ।’ उनले भने, ‘पहिलोपटक चेतावनीसहित पत्राचार गर्ने र निर्णय कार्यान्वयन नभए कारबाही गर्ने भएसँगै निर्माण कम्पनीका ठेकेदार बल्लतल्ल सम्पर्कमा आएका छन् ।’

लामो समयदेखि पुल निर्माणलाई लथालिंग छाडिँदा गौरवका आयोजना अलपत्र पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पुल निर्माणले कहिले गति लिन्छ भन्नेमा अझै अन्यौलको अवस्था रहेको स्थानीय शिक्षक शिवराज गौतमले बताए । गौतम भन्छन्, ‘समयमै पुल नबन्दा यहाँका स्थानीयले धेरै नै सास्ती खेप्नु परेको छ, वर्षायाममा आवतजावतको समस्या छ । पुल निर्माणका लागि स्थानीय सरकारले पनि तदारुकता देखाउनुपर्थ्यो त्यो हुन सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाको काम सुचारु गरि निर्धारित समयअगावै सम्पन्न गर्न मैले पटकपटक आवाज उठाउँदै आएको छु ।’ स्थानीय जनप्रतिनिधिको निगरानी र निर्माण कम्पनीको लापरबाहीले योजना अलपत्र परेको उनले बताए ।

निर्माण कम्पनीमाथि खबरदारी तथा दबाब सिर्जना गरि काम सुचारु गराउने दायित्व राज्य निकायको भएको उनको भनाइ छ । एक वर्षअघि १० करोड लागतमा पुलको ठेक्का भएपनि निर्माण कम्पनीले अहिलेसम्म पुलको डिजाइन तथा प्राविधिक नाप नक्सांकनको प्रतिवेदन स्वीकृत गर्न सकेको छैन ।

नारायनम् सेवा प्रालिका सञ्चालक जयबहादुर खत्रीले पुलको डिजाइन तथा प्राविधिक प्रतिवेदन स्वीकृत नभएकाले ढिलासुस्ती भएको बताए । उनले निर्माणको काम रोकिनुमा सडक विभागको नै कमजोरी रहेको औंल्याए । उनले आगामी दशैँअगावै काम सुचारु गर्ने लक्ष्य रहेको बताए । कुइरे खोलामा ७० मिटर लम्बाई र ११ मिटर चौडाईको पुल बन्ने छ । यस्तै, दायाँबायाँ दुवैतर्फ २००–२०० मिटर सडक पहुँच निर्माण हुनेछ । सडक विभागको डिजाइन अनुसार नै काम सम्पन्न गरिने कम्पनीको दाबी छ ।

सडक विभागले हाल योजना स्थलमा सडक पुल योजनाको लागि संक्षिप्त वातावरणीय अध्ययन (बेस) प्रतिवेदन तयारीका लागि योजनाबाट प्रभावित सरोकारवालाहरुको रायसुझाव संकलन गर्ने भएको छ । विभागले यही जेठ १७ गते एक सूचना जारी गर्दै सम्झौताको एक वर्षपछि प्रारम्भिक सार्वजनिक सुनुवाइ गरिने जनाएको हो । जसअनुसार जेठ २४ गते सार्वजनिक सुनुवाइ गर्न लागिएको छ ।

सेती राजमार्ग (दक्षिणखण्ड) टीकापुर–लोडे–चैनपुर सडक योजना संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका योजना प्रमुख रमेश भट्टराईले विभागले पुलको डिजाइन तथा प्राविधिकको काम स्वीकृती दिए लगत्तै काम सुचारु हुने बताए ।

पुल र नदीकै चिन्ता

चुरे पहाडको फेदिमा पर्ने बर्दगोरिया गाउँपालिकाको वडा नं. ३ को गाउँबस्ती चौतर्फी नदीले घेरिएको छ । यहाँका स्थानीयलाई पुल र काँडा, कुहिरे खोलामा आउने बाढीको चिन्ता छ । यहाँको मुख्य समस्या पुल र नदी तटबन्ध नै रहेको स्थानीय बताउँछन् ।
स्थानीय पदम तिरुवाका अनुसार हरेक वर्षायामसँगै आउने बाढीले सयौं बस्ती डुबान, अन्नबालीमा क्षति हुने गरेको छ । वर्षेनी खेतीयोग्य जमिन कटान र मठ,मन्दिर लगायतका सार्वजनिक संरचनाहरु जेखिममा छन् ।

उनले भने, ‘यहाँको टट्कारो आवश्यकता पुल र नदी तटबन्ध नै हो । बाटोघाटो, शिक्षा, स्वास्थ्यको क्रमिक विकास भइरहेको छ तरपनि, त्यससँगै योजना छनोट गर्दा पुल र नदी तटबन्धको प्रमुख आवश्यकतालाई प्राथमिकीकरण गरिनुपर्छ ।’ उनले पुल नहुँदा आवत जावतमा सास्ती खेप्नुपरेको र नदी तटबन्ध नहुँदा बस्ती नै जोखिममा पर्ने गरेको बताए । ‘हरेक वर्ष खेतीयोग्य जमिन नासिदा यहाँका किसान पीडित छन् तर, जनताको आवाज र समस्या सुनिदिने कस्ले ? उनले प्रश्न गर्दै भने ।’

कुहिरे खोलामा तटबन्ध नहुँदा न्युज्योति आधारभूत विद्यालय रानीकुण्डाको करोडौंका संरचना जोखिममा रहेको उनले सुनाए । यस्तै, सोही वडास्थित रानीजरुवा सामुदायिक उपभोक्ता समितिका अध्यक्ष लालसिंह विश्वकर्माले कुहिरे खोलाको धार परिवर्तनका लागि सामुदायिक वन उपभोक्ता समूहबाट रु २ लाख खर्चिएको बताए ।

‘सामुदायिक वनको आयस्रोतले भ्याएसम्म हामीले गत आर्थिक वर्षमा नदीमा आउने बाढीको क्षति रोक्न धार परिवर्तनको पहल गर्यौैं’ उनले भने तर, ‘पर्याप्त बजेट अभावले समस्या ज्यूँकात्युँ छन् । उनले वडा र गाउँपालिकाबाट पर्याप्त बजेट विनियोजन गरिदिन आग्रह गरिएकोसमेत बताए ।

पुल नबने आन्दोलन गर्ने चेतावनी

वर्षौंसम्म कुहिरा नदीमा पुल बन्ने आशामा रहेका स्थानीयबासीले पुल नबने आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले पटकपटक यहाँको विकास निर्माणकार्य पछि धकेल्न पर्यत्न भएको भन्दै आन्दोलन गर्ने बताएका हुन् । गाउँपालिकाको वडा नं. ३ मा बसोबास गर्दै आएकी स्थानीय उर्मिला साउँदले पुल निर्माणको काम सुचारु नभए विकासका आयोजना अलपत्र पार्ने ठेकेदारमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्न बाध्य हुने बताइन् ।

‘यसअघि यहाँका स्थानीयले गरेको खबरदारी, संघर्ष र आन्दोलनकै बलमा पुलको योजना परेको हो’ उनले भनिन् हामीले फेरिपनि आन्दोलित हुन नपरोस् ।’ उनले निवर्तमान संघीय सांसद झपटबहादुर रावलको पहलमा आयोजना परेको भन्दै धन्यवाद दिइन् ।

यस्तै, राष्ट्रिय कलेज सुख्खडमा स्नातक तहमा अध्ययनरत विद्यार्थी डम्मर जोशीले पुल निर्माणमा ठेकेदारले लापरबाही गरिरहेको बताए । उनले हजारौं संख्यामा दैनिक उपभोग्य वस्तुको किनमेल गर्ने सर्वसाधारण नागरिक, कर्मचारी, शिक्षा, स्वास्थ्य उपचारको सिलसिलामा आवतजावत गर्ने मानिसलाई पुल नहुँदा वर्षायाममा सास्ती हुने गरेको बताए ।

‘कुहिरा नदीमा छिटोछरितो रुपमा पुल बन्नुपर्छ’ उनले भने, ‘पुल निर्माणमा सबैको खबरदारी र निगरानी आवश्यक छ ।’ त्रिदेशीयमार्ग जोड्ने राष्ट्रिय गौरवको आयोजनालाई कुनैपनि बहानामा रोक्न नहुने उनले बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १ : १६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *