४ जेष्ठ २०८१, शुक्रबार | May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिको एकवर्ष : वडाध्यक्ष आचार्यका यस्ता छन् उपलब्धि !

वडामै १३ लाख बढी राजस्व संकलन



कैलाली । स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि चुनिएका जनप्रतिनिधिको एकवर्षे कार्यअवधि पूरा भएको छ । २०७९ वैशाख ३० मा दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । जनप्रतिनिधिको एकवर्ष सिकाइमै बितेको छ ।

काम गर्दै, सिक्दै गरेको र गर्ने क्रममा केही गल्ती भएपनि आगामी दिनमा सुधारसहित जनहितमा काम गर्ने उनीहरूको प्रतिबद्धता छ । स्थानीय सरकारमा प्रत्यक्ष जनतासँग नजिक रहेर वडाअध्यक्षले काम गर्दछन् । गाउँ, समुदायको विकासका लागि वडाध्यक्षको कार्य सम्पादनमा प्रत्यक्ष संलग्नता र कार्यकारी भूमिका रहन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार निर्वाचित हरेक वर्ष वडास्तरमा भएका विकास निर्माणका योजनाको सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । तर, प्रत्येक आर्थिक वर्षमा गाउँसभा अगावै जनप्रतिनिधिहरुले सार्वजनिक सुनुवाइ नगरि पदभार ग्रहण गरेकै दिनलाई आधार मानेर प्रगति विवरण सार्वजनिक गर्ने नयाँशैली अपनाउन थालेका छन् ।

कैलालीको बर्दगारिया–३ का वडाध्यक्ष मनऋषि आचार्यले एकवर्षे अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमार्फत् उनले चालू आर्थिक वर्ष २०७९/०८० को बैशाखसम्ममा वडाभर सञ्चालन भएका स्थानीय तह, प्रदेश र संघीय सरकारबाट विनियोजित बजेट योजनाको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

प्रगति सार्वजनिक गर्दै वडाध्यक्ष आचार्यले एक वर्षमा वडामा भौतिक पूर्वाधार विकासमा उल्लेख्य काम भएको बताए । उनले २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनमा आफू निर्वाचित भएपछि भौतिक पूर्वाधार विकासमा लक्ष्यअनुरुप उपलब्धि हासिल भएको दाबी गरेका छन् ।

वडामै १३ लाख बढी राजस्व संकलन

स्थानीय तहमा आर्थिक कारोबारमा एकरुपता र पारदर्शीता ल्याउन अनलाइन प्रणालीमार्फत् भुक्तानी गरिन्छ । वडाध्यक्ष आचार्यका अनुसार बर्दगोरिया–३ को कार्यालयबाट चालू आर्थिक वर्ष २०७९/०८० मा रु १३ लाख १८ हजार १ सय ३४ आन्तरिक राजश्व संकलन भएको छ ।

राजश्व दाखिलातर्फ बैशाख मसान्तसम्म एकीकृत सम्पत्ति करमा रु १ लाख ५० हजार २ सय ७४, अन्य विविध करमा रु २ लाख ९४ हजार ८ सय ६० गरी कुल रु ४ लाख ४६ हजार १ सय ३४ आन्तरिक आम्दानी भएको छ । यस्तै, ढुङ्गा, बालुवा, गिट्टी लगायत नदीजन्य पदार्थको रोयल्टीतर्फ रु ८ लाख ७२ हजार संकलन भएको छ ।

वडा कार्यालयमा पुँजीगततर्फ विनियोजित कुल रु ३० लाखको विभिन्न १२ वटा शीर्षकका योजनामध्ये २ वटा योजना निर्माणाधीन अवस्थामा रहेको र १० वटा योजना सम्पन्न भइसकेका छन् । बर्दगोरिया गाउँपालिकाबाट विनियोजित विभिन्न १० वटा योजनामध्ये वडा नं. ३ र ४ जोड्ने झोलुङ्गे पुल रु ५५ लाख, कुहिरा नदी तटबन्ध रु २० लाख, वर्थिङ सेन्टर निर्माण तथा विद्युत लाइन विस्तार रु ९ लाख ९० हजार निर्माण सम्पन्न भइसकेका छन् ।

आरोमा वेथलियम चर्च रु १० लाख, प्रतिक्षालय निर्माण रु ४ लाख र वडा कार्यालयको प्रशासनिक भवन रु ६४ लाखको योजना निर्माणाधीन अवस्थामा छन् । त्यस्तै, प्रदेश तथा संघीय सरकारबाट विनियोजित विभिन्न ८ वटा शीर्षकका योजनामध्ये ४ वटा योजना निर्माण सम्पन्न भएका छन् ।

भौतिक पूर्वाधार विकासतर्फ जगदम्बिके भगवती माविको भवन रु ३५ लाख, रिङरोड रु ६ करोड, वडा कार्यालय भवन रु ५० लाख, वडा नं. ३ र २ बर्दगोरिया धाम जोड्ने झोलुङ्गे पुल रु २ करोड २० लाख र काँडा नदी तटबन्ध रु ३० लाखको योजना निर्माणाधीन अवस्थामा छन् ।

प्रदेश र संघीय सरकार अन्तर्गत विनियोजित रानीकुण्डा डिप बोरिङ्ग रु १ करोड, पशुपति युवा क्लबको भवन रु २० लाख, वडा नं. ३ र ४ जोड्ने रु ४२ लाख बजेटको झोलुङ्गे पुल निर्माण योजना सम्पन्न भएका छन् । प्रशासनिक कार्य विवरणमा नागरिकता सिफारिस १६५, घरबाटो सिफारिस २२, चारकिल्ला प्रमाणित ५३, नाता प्रमाणित ४५, अंशियार सगोल प्रमाणित २५, अन्य सिफारिस १ हजार १ सय र निवेदन दर्ता ६६ वटा छन् ।

सो अवसरमा वडाध्यक्ष आचार्यले जननिर्वाचित प्रतिनिधि सबैको साझा व्यक्ति हुने भएकाले कुनै आग्रह पूर्वाग्रही नराखी पक्ष, प्रतिपक्ष सबैलाई समान दृष्टिकोण राखिएको बताए । विकास निर्माणमा सबैको हातेमालो र साथ आवश्यक रहेको औंल्याउँदै उनले गाउँ, टोल, समुदायको आवश्यकता र मागबमोजिम टोलबस्तीबाट छनोट भई आएका आयोजनालाई प्राथमिकता दिएको बताए ।

वडामा ठूलो आकारको बजेट रकम नहुने हुँदा यसअघिका आयोजनालाई पूर्णता दिने र नयाँ दीर्घकालीन महत्वका योजनालाई कार्यान्वयन गर्दै लैजानै उनको भनाइ छ । वडामा साना टुक्रे योजनालाई एकीकृत गरी दीगो विकासका योजनामा लगानी लगाउने र अनुगमन तथा निगरानी कडाई गरिने उनले प्रतिबद्धता जनाए ।

उनले निर्धारित सम्झौता अवधिमै काम सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिको पनि विषेश भूमिका रहने बताउँदै यसले भ्रष्टाचार न्यूनिकरण, शुसासन, पारदर्शीता ल्याउन र बजेट फ्रीज हुन रोक्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ६ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *