२२ आश्विन २०८१, मंगलबार | Oct 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दगोरियामा विपद् जोखिम न्यूनीकरणका लागि प्रारम्भिक तालिम



कैलाली । विपद्को समयमा खोज तथा उद्धार गर्न जनशक्ति तयार गर्ने उद्धेश्यले सरोकारवाला निकायका प्रतिनिधिहरुलाई प्रारम्भिक तालिम दिइएको छ ।

कैलालीको बर्दगोरियामा दीगो विकास समाज भजनी, नेपाल रेडक्रस सोसाइटी दोदोधरा उपशाखाको सहयोग र गाउँपालिकाको आयोजनामा बिहीबार वडा नं. १ स्थित सानाकिसान कृषि सहकारी संस्थाको हलमा तालिम दिएको हो । एकदिने सो तालिममा पालिका अन्तर्गत ६ वटै वडाका वडाध्यक्ष, वडास्तरीय विपद व्यवस्थापन समितिका पदाधिकारी, विषयगत शाखाका प्रमुख, सुरक्षाकर्मी, रेडक्रस, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेकोे थियो ।

तालिममा प्राकृतिक तथा गैरप्राकृतिक कारणले हुने जोखिम न्यूनीकरण, राहत तथा उद्धारका उपायबारे प्रशिक्षण दिइएको थियो ।

त्यस्तै, पूर्ण र प्रभावकारी पूर्व सूचना प्रणालीका चार आवश्यक तत्वहरु जोखिमको ज्ञान, अनुगमन तथा सूचनाको सेवा, खबर आदानप्रदान र जोखिम सामना क्षमताबारे जानकारी दिइएको छ ।

बाढी पहिरोको समयमा समुदायस्तरमा उद्धारकर्ता तयार गर्ने उद्देश्यले एकदिने खोज तथा उद्धार र आपतकालीन स्वास्थ्य तालिम दिइएको बर्दगोरिया गाउँपालिकाको रोजगार शाखाका संयोजक भुमिप्रसाद शर्माले बताए ।

प्रशिक्षण दिँदै उनले भने, ‘विपद् कतिखेर आउँछ कसैलाई थाहा हुँदैन । विपद् जोखिम न्यूनीकरणका लागि स्थानीयस्तरमा दक्ष जनशक्ति बनाउन तालिम दिइएको हो ।’

स्थानीय स्तरमा विपदका बेला कसरी बच्न सकिन्छ? उद्धार कसरी गर्न सकिन्छ? भन्ने विषयमा स्थानीय नागरिकलाई जानकारी गराइएको उनको भनाइ छ ।

तालिममा बाढीपहिरो, डुबान, खडेरी, आँधी, हुरीबतास, भुकम्प, आगलागीका कारण हुने प्राकृतिक विपत्ति र महामारी, कीट वा सुक्ष्म जीवाणुको प्रकोप, वातावरणीय प्रदुषण जस्ता गैरप्राकृतिक कारणले उत्पन्न हुने विपद्को क्षति वा उद्धारमा विपद् व्यवस्थापन समितिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको उनले बताए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले सामुदायिक खोज उद्धारसँग सम्बन्धित विषय सूचना तथा सञ्चार, जोखिम नक्सांकन, खोज तथा उद्धारको अवधारणा, विपद व्यवस्थापन, भुकम्पीय प्रतिकार्य, बाढी तथा पहिरो प्रतीकार्य, आगलागीको प्रतिकार्य, खोज तथा उद्धारका विधि, महामारी, झाडापखाला, श्वासप्रश्वासजन्य रोग, कीटजन्य रोगलगायतका विषयमा जानकारी दिए । तालिमबाट विपद्को जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ८ : ४३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *