कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा आगामी पाँच वर्षभित्र सबै वडामा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यसहित आयोजनाको कामले गति लिएको छ ।
संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत गाउँपालिकामा खानेपानीको सुविधा पुर्याउन लागिएको हो । सो खानेपानी आयोजनाको काम सम्पन्न भए गाउँपालिका अन्तर्गतका ७ हजार बढी घरधुरीका बासिन्दा लाभान्वित हुनेछन् ।
खानेपानी वितरणका लागि मुख्य लगानीकर्ता विश्व बैंक र बर्दगोरिया गाउँपालिकाबीच शुक्रबार आयोजनाको कामलाई अघि बढाउनेबारे छलफल भएको छ । गाउँपालिकाका जनताका लागि घर–घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यसहित स्थानीय सरकारले ७० करोड लागतको खानेपानी आयोजना ल्याएको हो ।
विश्व बैंक र बर्दगोरिया गाउँपालिकाले गत असोजमा खानेपानी परियोजनासम्बन्धी सम्झौता गरेको थियो । सोहीअनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि एक करोड बजेट विनियोजनसमेत भएको छ । गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. १ का वडाध्यक्ष मिथुन गौतमका अनुसार आगामी पाँच वर्षमा आयोजनाको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
वडाध्यक्ष गौतमले भने, ‘एक करोड बजेट विनियोजन भएको छ । रानीकुण्डाको खानेपानीलाई पूर्णता दिन मात्रै हामीलाई २ करोड चाहिन्छ भनेर माग गरेका छौँ । अब, सायद भदौ/असोजतिर कन्सल्टेन्टको टिम आउँछ र डिजाइन तयार गर्छ । त्यसपछि खानेपानी आयोजनाको काम अघि बढ्छ ।’
उनका अनुसार परियोजनाको कुल ७० करोड लागतमध्ये मुख्य दाता विश्व बैंकले नेपाल सरकारको खानेपानी विभागमार्फत् ८० प्रतिशत अर्थात् ५६ करोड रुपैयाँ व्यहोर्नेछ । प्रदेश सरकारले लागतको १० प्रतिशत अर्थात् ७० लाख रुपैयाँ व्यहोर्नेछ । त्यस्तै, स्थानीय सरकारले लागतको १० प्रतिशत अर्थात् ७० लाख रुपैयाँ सहलगानी गर्नेछ । अहिले परियोजनाका लागि कार्यालय स्थापना गर्ने तथा गाउँपालिकाको आगामी गाउँसभाबाट खानेपानी सम्बन्धी ऐन निर्माण गर्ने तयारी गरेको छ ।
आयोजनाले स्वच्छ खानेपानीसँगै सरसफाइ र ढल निकासको काम समेतलाई समेट्नेछ । डिजाइन तयार नभएपनि रानीकुण्डा खानेपानी र बौनियाँ बजारमा शौचालयको काम प्राथमिकतामा पर्न सक्ने आंकलन गरिएको छ । जिल्लाको बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिका हेर्ने गरी परियोजनाले ईन्जिनियरसमेत खटाइसकेको छ ।
आयोजनाबारे शुक्रबार विश्व बैंक, खानेपानी विभागका प्रतिनिधि र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसम्मिलित टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । टोलीले खानेपानी आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउन सुझाब दिएको छ ।
प्रतिक्रिया