काठमाडौं । नेकपा एकीकृत समाजवादीको सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियता ठूलो सङ्कटमा भएको बताएका छन् । आज राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै देश ठूलो सङ्कटमा भएकाले होसियार हुनुपर्ने उनले बताएका हुन् ।
हामीले आफ्नै भूमि पनि हाम्रो भन्न नपाएको नेता खनाल बताए । हाम्रो भूभागमा विदेशी सेनाहरू बसिरहेको उनको उनको दाबी छ । उनले भने, ‘यतिबेला होसियार भएर जानुपर्ने भएको छ । राष्ट्रियता ठूलो सङ्कटमा छ । हाम्रै देशको भूभाग आज हाम्रो भन्न पाइरहेका छैनौँ । विदेशी सेनाहरू हाम्रो भूभागमा बसिरहनेका छन् । सीमाना अंकित छैन ।’
उनले देशमा शिक्षा र रोजगार नभएको पनि बताए । ‘हाम्रा विद्यार्थीहरू पढ्नकै लागि अष्ट्रेलिया अमेरिका पुग्न बाध्य छन् । हाम्रो देशका युवा खाडी र मलेसिया पुग्न बाध्य छन् यो हाम्रो अर्को विडम्बनाको कुरा हो,’ नेता खनालले भने ।
उनले देशका राजनीतिक अन्योलता भएको बताए । कुन सरकार कहिलेसम्म टिक्छ भन्ने कुनै टुंगो नभएको उनको भनाइ थियो । उनले भने, ‘हामी राजनीतिक रुपमा एक किसिमको अन्योलमा छौँ । कहिलेसम्म कुन सरकार टिक्छ भन्ने घोत्लिनुपर्ने स्थिति छ ।’
आर्थिक रुपमा झन देश जर्जर हुँदै गएको र कृषिप्रधान देश रेमिट्यान्स प्रधान हुँदै गइरहेको पनि नेता खनालले बताए । उनले भने, ‘ आर्थिक रुपमा हेर्नुहोस्, देशको अर्थतन्त्र बडो जर्जर भएर गइरहेको छ । रेमिट्यान्सले केही सुधार भइरहेको छ । अब देश कृषिप्रधान होइन रेमिट्यान्स प्रधान हुन लागिरहेको छ ।’
देशका क्रान्तिकारीहरू, समाजवादीहरू, देशभक्तहरू प्रगतिशील शक्तिहरू एकताबद्ध भएर नउभिएसम्म यो देशमा आमूल परिवर्तन सम्भव नहुने उनको दाबी छ ।
प्रतिक्रिया