कैलाली । बझाङको केदारस्यु गाउँपालिका–१ मा मंगलबार भएको सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत उनको निधन भएको हो ।
मन्त्री सिंहको मंगलबार साँझ ५ बजेर ३३ मिनेटमा मृत्यु भएको उपचारकमा संलग्न चिकित्सकले जनाएका छन् । मंगलबार दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनापछि मन्त्री सिंहलाई उपचारका लागि बाँकेको कोहलपुर ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा परेकी मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजु जयादेवी सिंहको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते मन्त्री सिंहका मन्त्रीको निजी सुरक्षा अधिकृत सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको पनि कोहलपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था स्थिर छ ।
मन्त्रीसहित उनीहरूलाई हेलिकप्टरमार्फत कोहलपुर पु¥याइएको थियो । मन्त्री सिंहको मृत्युसँगै बझाङ जिल्लाले वर्षौंपछि पाएको पहिलो मन्त्री गुमाएको छ । संघीयतापछि प्रदेश र संघमै बझाङबाट कोही पनि मन्त्री भएका थिएनन् ।
सिंह गत जेठ ५ गते सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका थिए । गत वर्ष मंसिर ४ गते भएको प्रदेश सभा सदस्य निर्वाचनमा बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट उनी निर्वाचित भएका थिए ।
प्रतिक्रिया