काठमाडौं । बाढी पहिरोमा परी एक साताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थका अनुसार जेठ ३१ गतेदेखि असार ७ गते बिहानसम्म बाढी तथा पहिरोमा परी १३ जनाको मृत्यु भएको हो ।
बिहीवार बसेको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै पन्थले सो जानकारी दिएका हुन् ।
उनका अनुसार एक साताको बिचमा ताप्लेजुङ, कास्की, भोजपुर, गोरखा, नुवाकोट र तनहुँमा मानवीय क्षति भएको छ । संखुवासभामा २० जना तथा ताप्लेजुङ र पाँचथरमा ३/३ जना बेपत्ता छन् ।
एक साताको बिचमा बाढी र पहिरोमा परी ८ जना घाइते भएका र ४१ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी पनि उनले दिए ।
सम्भावित बाढी पहिरोलाई ख्याल गरेर सरकारले पूर्व तयारी गरेको पनि उनले बताए ।
प्रतिक्रिया